अमेरिका एकातिर, रुस, इरान र टर्की अर्कातिर
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानको भ्रमण गर्ने भएका छन् । इरान र टर्कीका नेताहरुसँग भेटवार्ता गर्न उनी आगामी साता राजधानी तेहरान जान लागेको क्रेमलिनले पुष्टि गरेको छ ।
गैरपश्चिमा मुलुकहरुसँगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ राष्ट्रपति पुटिन इरान भ्रमणमा निस्किन लागेका हुन् ।
कुटनीतिक पहलको क्रममा उनको यो सबैभन्दा पछिल्लो यात्रा हो । रुसमाथि पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्ध हटाउन, सैन्य र आर्थिक सहयोग जुटाउन भ्रमणले मद्दत पुर्याउने विश्वास लिइएको छ ।
तेहरानमा पुटिनसँग टर्कीका राष्ट्रपति रेसेप एर्दोगन र इरानका राष्ट्रपति इब्राहिम रैसीको त्रिपक्षीय भेटवार्ता हुने जनाइएको छ ।
आज टर्कीले युक्रेन, रुस र संयुक्त राष्ट्र संघबीच वार्ता गर्ने कार्यक्रम छ । युक्रेनबाट अन्न विशेषगरी गहुँ निर्यात सुरु गर्न वार्ताको आयोजना गरिएको हो ।
त्यसैगरी, इरानले भने रुसमाथि लगाइएको प्रतिबन्ध हटाउन र रुसी तेल निर्यात गर्न सहयोग गर्ने जनाएको छ ।
गत फेब्रुअरी २४ मा युक्रेनमाथि रुसी आक्रमण भएको थियो । त्यसपछि अमेरिका र पश्चिमा मुलुकले रुसलाई विश्व समुदायबाट एक्ल्याउन अनेक प्रपञ्च हुँदै आए पनि पुटिनले उक्त योजनालाई विफल बनाउन छुट्टै रणनीति बनाएको देखिन्छ ।
टिप्पणीहरू