गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गरियोस् : माओवादी अखिल

गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गरियोस् : माओवादी अखिल

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्तीको माग गरेको छ । अध्यक्ष पन्चा सिंहद्वारा जारी विज्ञप्तिमा अधिकारीले कानुन विपरीत दलीय जिम्मेवारी लिएको भन्दै बर्खास्त गर्न सरकारसँग माग गरिएको हो ।

सिंहद्वारा जारी विज्ञप्तिमा, ‘राष्ट्र बैंक सञ्चालनको निम्ति बनेको नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ को उपदफा (क) मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति राजनैतिक दलको सदस्य वा पदाधिकारी भएमा नियुक्त हुन अयोग्य हुने,’ उल्लेख छ । उनले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८, को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाइएको हुँदा तुरुन्त बर्खास्त गर्न नेपाल सरकारसमक्ष जोडदार माग गरिएको बताइएको छ ।

‘प्रतिगमन ढालेर बनेको वर्तमान सरकारलाई असहयोग गरेको भन्दै नेपाल सरकारले पदमुक्त गरे तापनि अधिकारीलाई अदालतले पुनर्बहाली गरिदिएको थियो । ‘सरकारको उक्त कदम सही थियो भन्ने कुरा अहिले प्रमाणित भएको’ उसको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र हितलाई तिलाञ्जलि दिएर अमुक दलको कार्यकर्ता बनेका अवैध गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलनको आँधीबेहरी ल्याउने क्रान्तिकारीको चेतावनी छ ।

टिप्पणीहरू