भारतीय राजदूत दोहोर्याएर खुमलटार

भारतीय राजदूत दोहोर्याएर खुमलटार

असार १६ गते काठमाडौँ ओर्लिएर शीतल निवासमा ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै उच्चस्तरीय भेटघाटमा व्यस्त नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित कार्यालयमा पद सम्हालेपछि पहिलो चरणमा भिआइपीहरुसँग पालैपालो शिष्टाचार भेट गरेका राजदूतले प्रचण्डलाई दोहोर्याएर भेटेका हुन् । हिजो दिउँसो प्रचण्ड भेट्न खुमलटार पुगेका उनले त्यहाँ चालिस मीनेट बिताएको बताइएको छ । यसअघि ओहोदाको प्रमाणपत्र बुझाएको भोलिपल्ट उनले खुमलटारमै अध्यक्ष प्रचण्डसँग भेटेका थिए ।

राजदूत श्रीवास्तवले उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ,सभामुख अग्नि सापकोटा,पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली,एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,प्रधानसेनापति प्रभुराम शर्मासँग पनि शिष्टाचार भेट गरिसकेका छन् । उनले सबैजसो मन्त्रीसँग सिंहदरबार पुगेर भेटवार्ता गरेका छन् ।

टिप्पणीहरू