सुटुक्क अर्काको जग्गा बेची खानेहरु जेलतिर
अर्काको जग्गा बेची खाएको मुद्दामा दोषी ठहर भएका १३ जनालाई सुर्खेत जिल्ला अदालतले सजाय तोकेको छ । तर,यस प्रकरणमा मुख्य अभियुक्त मानिएका तत्कालीन नापी कार्यालयका राजेन्द्र थापा,भीमलाल आचार्य, दिपेन्द्र पुलामी र मालपोत हाकिम लक्ष्मी खत्रीले भने उन्मुक्ति पाएका छन् ।
अदालतले जग्गा कारोबारमा संलग्न सहवीर कार्की र अमरसिंह कटुवाललाई किर्ते गरेको कसूरमा क्रमश: ९ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना,३ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै,सन्तोष ठाकुर, गणेश बुढा र निर्मल पुरीले दुई वटा कसूर गरेको ठहरसहित सजाय तोकिएको छ । उनीहरूलाई जनही किर्तेमा १ वर्ष कैद र २५ हजार जरिवाना गरिएको छ भने ठगीको कसूरमा २ वर्ष कैद २५ हजार जरिवाना तोकिएको छ ।
यस्तै,मालपोत कार्यालय सुर्खेतका तत्कालीन कर्मचारीहरू विश्वरूप साउद,सुनिल राना, गणेश बिक,दीपेन्द्र श्रेष्ठ, कृष्णबहादुर थापा र तीर्थबहादुर महतारालाई किर्तेको कसूरमा जनही एक वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । वीरेन्द्रनगर–३ का तत्कालीन कार्यवाहक वडाध्यक्ष रामकुमार दर्लामी र वडासचिव उत्तम अधिकारीलाई किर्तेमै ९ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना लगाइएको छ ।
असार २१ गते जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो । तर, अदालतले यो प्रकरणमा संलग्न मुख्य दोषीबाहेक अरुलाई मात्रै कैद र जरिवाना तोकेको छ । पीडित सौगात रावतले मुख्य व्यक्तिहरु सजायको भागिदार हुन नसकेको भन्दै दु:खेसो पोखेका छन् । जग्गाधनीलाई थाहै नदिई अर्कैलाई जग्गा पास गर्नेमा उनीहरु नै मुख्य दोषी रहेको उनको जिकिर छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१२ साविक जर्बुटा वडा नम्बर–३ (क) मा रहेको कित्ता नम्बर ३१११ को जग्गा २०७७ असार ८ गते जग्गाधनीलाई थाहै नदिई कित्ताकाट गरिएको थियो । उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको नाममा थियो ।
२०७७ पुस २९ गते रावतले जग्गाको नक्सापास निकाल्दा जग्गा अर्कैको नाममा नामसारी भएको थाहा पाएका थिए । त्यति बेलासम्म उनको जग्गा ६ कित्तामा बाँडिसकिएको थियो । दैलेखको महाबु गाउँपालिका–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको थियो ।
रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पछाडिको भाग छोडेर मूल बाटोको ५० मीटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा गएको थियो । उक्त घटनापछि जग्गाधनी रावतले जाहेरी दिएका हुन् । सौगात रावतको जाहेरीमा सरकारी वकिलको कार्यालयले १९ जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरेको थियो ।
टिप्पणीहरू