युवराजमाथि हत्यारा भन्ने गम्भीर आरोप

युवराजमाथि हत्यारा भन्ने गम्भीर आरोप

साउदी अरब गुप्तचर विभागका पूर्व प्रमुखले युवराज मोहम्मद बिन सलमानलाई ‘मनोरोगी’ र ‘हत्यारा’काे संज्ञा दिएका छन् । केही दिनअघि सीबीएस न्यूजमा प्रशारित एउटा अन्तर्वार्ताका क्रममा गुप्तचर पूर्वप्रमुख साद अलजाबरीले युवराज सलमान अमेरिका र अन्य राष्ट्रका लागि ठूलो चुनौती बन्न सक्ने चेतावनी दिएका हुन् ।

सन् २०१८ मा वासिङ्टन पोष्टका पत्रकार जमाल खसोगीको हत्या–उदाहरण दिँदै पूर्वप्रमुख सादले भने– युवराज ‘हत्यारा’ हुन् । उनी ‘टाइगर स्क्वायड’ नामक खतरनाक गिरोहसँग साँठगाठ गरेर अपहरण र हत्या गर्छन् ।

युवराज मोहम्मद बिन सलमान साउदी–राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन् । मध्यपूर्वकाे प्रभावशाली शासकका रूपमा चिनिन्छन् ।

‘सलमान यस्ताे मनोरोगी हुन्– जसलाई कसैप्रति सहानुभूति छैन,’ पूर्वप्रमुख सादले थपे, ‘उनीभित्र कुनैपनि भावना छैन । हामी अत्याचार र अपराधका साक्षी हौं।’

युवराज सलमानबाट आफ्नाे ज्यानकाे खतरा देखेपछि उनी क्यानाडा पुगेका छन् । साउदी सरकारले आफूलाई मार्न टोरन्टोमा पटकपटक टोली खटाएकाे वसिङ्गटन डीसीकाे एउटा अदालतलाई बयान दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनकाे भ्रमणपूर्व गुप्तचर विभागका एकजना पूर्वप्रमुख साउदी शासकविरूद्ध खराे रूपमा उत्रिएका छन् । युवराज सलमानलाई उनी सारा संसारका लागि खतरा देख्छन् । ‘एउटा मनोरोगी–हत्याराविरुद्ध आवाज उठाउन म यहाँ आएको छु,’ सादले अन्तर्वार्तामा भनेका छन् ।

 

टिप्पणीहरू