अघिल्लो दिन भरिभराउ बालकोटमा भोलिपल्ट सुनसान

अघिल्लो दिन भरिभराउ बालकोटमा भोलिपल्ट सुनसान

राष्ट्रिय राजनीतिको एउटा प्रमुख केन्द्रका रुपमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रायः नेताहरुको आउजाउ बाक्लै हुने गर्छ । औपचारिक बैठकदेखि अनौपचारिक भेटघाट त्यहिँ हुने भएकाले भक्तपुरको बालकोटस्थित ओली निवासमा पार्टीका नेता, देश तथा विदेशका पाहुना र एमाले कार्यकर्ताको आउजाउ बाक्लो हुने गरेको हो ।

मञ्चमा उक्लिएपछि घण्टौं भाषण गरे पनि प्रतिकूल स्वास्थ्य अवस्थाका कारण अध्यक्ष ओलीका भेटघाटहरु प्रायः निवासमै हुने गर्छन् । उहाँले विभिन्न देशका राजदूत र विदेशी पाहुनाहरुसँग पनि सामान्यतयाः निवासमा भेटघाट गर्ने गर्नुभएको छ ।

हिजो चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को विदेश विभागका प्रमुख लिउ चियान्छाओ र ओलीबीच बालकोटमै भेटवार्ता भएको थियो । चार घण्टा लामो भेटवार्तासहित चिनियाँ टोलीको सम्मानमा दिवाभोज आयोजना गरिएकाले दिनभर ओली निवास व्यस्त रह्यो ।

अस्ति दिनभर व्यस्त रहेको ओली निवास हिजो बुधबार भने सुनसान देखियो । मध्याह्न एकछिन एमालेका मधेसी नेता रघुवीर महासेठ झुलुक्क हुनुबाहेक अरु कुनै नेता बालकोटमा देखिएनन् । बालकोट स्रोतका अनुसार महासेठले अध्यक्षसँग डेढ घण्टा कुराकानी गरेका थिए ।

टिप्पणीहरू