गभर्नरविरुद्ध माओवादी अखिल उग्र, टायर बालेर प्रदर्शन
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माओवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आज पनि विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेज अगाडि क्रान्तिकारीले ‘एमाले नेता एम अधिकारी’ लाई गभर्नर पदबाट बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले ’गभर्नर भएर राजनीति गर्न पाइँदैन’, ’अर्थतन्त्र तहसनहस पार्ने एम अधिकारी राजीनामा दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सडकमा टायर बालेर प्रदर्शन गरेका माओवादी विद्यार्थीहरुले चर्का नाराबाजीसमेत गरेका थिए । गभर्नर अधिकारी ’एम अधिकारी’ का नाममा एमालेको योजना तथा अर्थ विभागको सदस्य बसेको भन्दै सदनदेखि सडकसम्म विरोध भइरहेको छ । हिजो पनि माओवादीका दुई भ्रातृ संगठन वाइसिएल र अखिल क्रान्तिकारीले राजधानीमा प्रदर्शन गरेका थिए ।
आजै वाइसिएलका नेताहरुले अधिकारीमाथि छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।


टिप्पणीहरू