जनार्दनबारे छलफल गर्न सांसदहरु दुई पटक जुटे, अर्थ र राजश्व सचिव बयान दिन जाँदै

जनार्दनबारे छलफल गर्न सांसदहरु दुई पटक जुटे, अर्थ र राजश्व सचिव बयान दिन जाँदै

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक हिजो दुई पटक बस्यो । बिहान साढे ११ बजेबाट बसेको बैठक मुश्किलले आधा घण्टा चलेको थियो ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यतामा सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, देव गुरूङ, शक्ति बस्नेत, मानबहादुर बिक, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव उक्त बैठकमा सहभागी थिए । त्यसपछि सांसदहरु प्रतिनिधिसभाको बैठकतर्फ लागेका थिए । प्रतिनिधिसभाको हिजो १ बजे डाकिएको बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको हो ।

अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयन गरिएको हो । उपसभामुखको निर्वाचनपछि सिंहदरबारमा बसेको संसदीय विशेष समितिको बैठकले आज अर्थसचिव मधु मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, मन्त्रालयको बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजश्व विभागका महानिर्देशकहरुलाई बयानका लागि छुट्टाछुटै बोलाउने निर्णय गरेको छ ।

आज ती सबै सरकारी कर्मचारी समितिमा बयानको लागि जाँदैछन् । मन्त्रालयले अस्ति दिउँसोसम्म दिनुपर्ने सम्बन्धित कागजात पनि उपलब्ध नगराएपछि समितिका सदस्यहरु अर्थ मन्त्रालयका कर्मचारीहरुप्रति असन्तुष्ट देखिएका हुन् ।

टिप्पणीहरू