एमाले उपमहासचिव, सचिवमाथि कारबाहीको माग
एमाले कास्कीमा अन्तर्घातको कलह फेरि बल्झिएको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहित सचिव पद्मा अर्याल,केन्द्रीय सदस्य जगत बिक,कास्की जिल्ला इञ्चार्ज भीम कार्कीमाथि आवश्यक छानबिनसहित कारबाहीको माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराइएको हो ।
जिल्ला सचिव बैनबहादुर अधिकारी, उपमहासचिवद्वय नवराज ओझा र दर्शन लामा,मेयरमा पराजित कृष्णबहादुर थापा र उपमेयरमा विजयी मन्जुदेवी गुरुङलगायतले अध्यक्ष ओलीलाई भेटेरै लिखितपत्र बुझाएका हुन् ।
गत स्थानीय निर्वाचनमा सार्वजनिक अडियोका साथै उनीहरूले गरेका शंकास्पद गतिविधिको विवरणसमेत पत्रमा उल्लेख गरिएको बताइएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री बनिसकेका उपमहासचिव गुरुङले कास्की जिल्लामा आफ्नै समूह बनाएका छन् । उता संघीय सरकारको गृह तथा स्वास्थ्यमन्त्री भइसकेका अर्का केन्द्रीय सदस्य खगराज अधिकारीको भिन्न समूह सक्रिय छ ।
यी दुई समूहको सक्रियताले पार्टीको आन्तरिक निर्वाचनदेखि हालै सम्पन्न स्थानीय तहको निर्वाचनसम्म त्यसको प्रभाव परेको हो । पोखरा महानगरपालिकाको निर्वाचनमा गुरुङ निकटका दीपक पौडेलले मेयरको टिकट पाएपछि अधिकारी पक्षका नेता, कार्यकर्ताहरूले पुरानो भिडियो सार्वजनिक गर्दै टिकट खोसेको आरोप लाग्दै आएको छ ।
सार्वजनिक उक्त भिडियोमा पौडेलले पोखराको एउटा सुन पसलबाट गहना चोरेको दृश्य सार्वजनिक भएपछि उनको टिकट खोसिएको थियो ।
टिप्पणीहरू