आयात प्रतिबन्धले देखायो अर्थतन्त्र जोखिममा रहेको संकेत
सरकारले डलरको घट्दो सञ्चिति रोक्न र बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विलासिताका सामान आयातमा गरेको आंशिक प्रतिबन्धको समयसीमा बढाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम भदौ १४ गतेसम्मका लागि प्रतिबन्ध थप गरेको हो । ठूला क्षमताका सवारी साधनदेखि केही खाद्यवस्तुसम्मलाई सरकारले विलासी सामानका रुपमा परिभाषित गर्दै गत बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाएकोमा त्यसलाई निरन्तरता दिएको हो ।
जसअनुसार कुरकुरे, कुरमुरे, लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, चुरोट सुर्तिजन्य पदार्थ, हिरा र तीन सय अमेरिकी डलरभन्दा बढीको स्मार्ट फोन ल्याउन रोक लगाएको छ । यस्तै, प्रतिबन्ध लगाइएका सामानमा ३२ इञ्चभन्दा बढीको रङ्गिन टेलिभिजन, जीप कार भ्यान, १ सय ५० सिसिभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र तासहरु पनि छन् ।
यसअघि आपूर्ति मन्त्रालयले बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रतिबन्ध अझै ४४ दिन थपिएको हो ।
टिप्पणीहरू