पप्पुको अटेरीले हुलाकी राजमार्ग अलपत्र, निर्देशनालय हैरान
राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिंड्न छोटो बाटोका रुपमा मधेशका २१ जिल्ला जोड्ने सडक नै अहिलेको हुलाकी राजमार्ग हो जो अझै निर्माणाधीन अवस्थामै छ । पूर्वमा झापाको भद्रपुर मेची पुलदेखि पश्चिममा कन्चनपुरको दोधारा चाँदनीसम्म जोड्ने यो राजमार्ग निर्माणमा कोरोना कहरको दुई वर्ष, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा ढिलाइ र राष्ट्रिय निकुञ्ज तथा जंगल क्षेत्र तगारो बनेको छ ।
राष्ट्रिय गौरव आयोजनाको प्रारम्भिक लागत ४७ अर्ब २४ करोड भएपनि उल्लेखित कारणले ६५ अर्ब २० करोड पुगेको छ । २०६५/०६६ बाट निर्माण शुरु गरेर ०७४/७५ मा सम्पन्न गर्ने प्रारम्भिक अनुमान गरिएकोमा पछि २०७९/८० मा काम सक्ने लक्ष्य राखिएको थियो । त्यहि शर्तमा ठेक्का लगाइएकोमा अहिलेसम्म काम सम्पन्न नभएपछि दुई वर्ष म्याद थप्ने गृहकार्य शुरु भएको छ । दुई वर्ष आयोजनाको आयु थप्ने तयारीसंगै संशोधित लागत रकम फेरिपनि बढ्ने निश्चित छ ।
मेची पुलदेखि दोधारासम्मको यस राजमार्गमा विभिन्न जिल्लाका ३५ वटा उत्तर-दक्षिण सहायक सडकहरु आयोजनाअन्तर्गत पर्दछन् । राजमार्ग निर्देशनालयले २५० वटा पुल र एक हजार ८५७ किलोमिटर सडक पनि बनाउने लक्ष्य राखेको छ । अर्थात् पूर्वदेखि पश्चिमसम्म ३ सय ७५ किमि र उत्तर दक्षिण जोड्ने ३८ वटा सहायक सडकको लम्बाइ ८ सय ८२ किमि हुनेछ ।
जसमध्ये हालसम्म ११३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने १३७ वटा बाँकी छ । १५० दशमलव ७१ किमि सडक कालोपत्रे भइसकेको निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले जनआस्थालाई जानकारी दिए । केही ठाँउमा काम सम्पन्न हुने चरणमा रहेको उनको भनाइ छ । राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडकको काम गर्न अहिलेसम्म पनि अनुमति पाउन नसकेको निर्देशक झाले गुनासो गरे ।
यो आयोजनाबाट ८० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने विश्वास निर्देशनालयको छ । आयोजना शुरु भएयता ४५ अर्ब ८३ करोड खर्च भइसकेको छ । शुरुमा भारतीय सरकारबाट सञ्चालित यो आयोजनामा निर्माण व्यवसायी पनि उतैबाट आएका थिए । तर, ती व्यवसायीले वीचैमा योजना अलपत्र पारेर भागेपछि मोडालिटीमा परिवर्तन गर्दा निर्माणमा केही ढिलाइ भएको निर्देशनालयको भनाइ छ ।
भारत सरकारको ८ अर्ब र नेपाल सरकारको ५१ करोड रुपैयाँ लगानीमा आयोजना अघि बढाइएको थियो । हाल नेपाल एक्लैले आर्थिक वर्षको बजेट विनियोजन गरेर आयोजनाका लागि ६५ अर्ब २० करोड निकासा गरेको छ ।
भारतको आर्थिक सहयोगमा निर्माण भएका हुलाकी राजमार्गअन्तर्गत १० वटा सडक नेपाललाई हस्तान्तरण भइसकेका छन् । १४ वटा प्याकेजमा ठेक्का लगाएर काम गरिएको छ । वीरगन्ज–ठोरी खण्ड दुईमध्ये प्याकेजको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो ।
तर, एउटाको काम अहिले पनि सकिएको छैन । पर्साको ठोरी जोड्ने ६० किलोमिटर सडकमध्ये २५ किलोमिटर मात्र बनेको छ भने ३५ किलोमिटर अलपत्र छ ।
ठेक्का लिएको पप्पुले काम नसकेको निर्देशनालय स्रोतले बतायो । सबैभन्दा बढी एक अर्ब ३२ करोड रुपैंयाको ठेक्का पप्पुले लिएकोमा बजेट पुगेन भनेर काम रोक्ने गरेको निर्देशनालय स्रोतको भनाइ छ । निर्देशनालयले भने काम सम्पन्न नभईकन पैसा नदिने अडान लिएको छ । पप्पुले काम गरेको पैसा पाइन भन्दै झूठा चिठ्ठी लेख्दै आएको निर्देशनालयका एक पूर्वकर्मचारीले बताए ।
एकातिर निलम्बित सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनको झमेला निर्देशनालयमा छ भने अर्कोतिर राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभागले असहयोग गरेको छ । ‘राष्ट्रिय वन्यजन्तु मैत्री मापदण्ड निर्देशिका २०७८’ ले गर्दा एक सय किलोमिटर सडक निर्माणमा बाधा पुगेको बताइन्छ । विभागले अडान लिदैं टनल निर्माण गरेर जान सुझाव दिएको छ ।
वन मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले वन्यजन्तु निर्देशिकाको हवाला दिदैं भने, ‘वन्यजन्तुलाई हानीनोक्सानी पुग्ने कार्यमा हामी सहयोग गर्न सक्दैनौँ ।’ उनी भन्छन्,‘राष्ट्रिय निकुञ्जलाई मर्का पर्ने काम कहिँ कतैबाट पनि हुनुहुँदैन । बरु विकल्पका रुपमा सुरुङमार्ग बनाएर जान सकिन्छ भन्ने सुझाव राख्न चाहान्छौं ।’
आव २०७९/८० मा गाईघाट–बनियानी सडक खण्ड, अमुवा–माढी–रिउखोला सडक, चितवन-नवलपुरको जगतपुर–बहुवन सडक खण्ड, चिराइनाका–कल्यांकोट–गोबरडिहा–गढवा–राजपुर–गोठुवा सडक खण्ड, नवलपरासीको मरामा–दुम्कीबास–त्रिवेणी सडकखण्ड गरी जम्मा १५३ किमि सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
टिप्पणीहरू