खाएको खुल्यो, कारवाही कता भुल्यो ?
सशस्त्र प्रहरीका तालिम समादेशकको रूपमा कार्यरत एसएसपी र एसपीहरूले तलमाथि पार्न लागेको जवानहरूको लाखौं रकम बाटबाटैमा फिर्ता भएको छ ।
जनआस्थामा समाचार प्रकाशन भएलगत्तै तिनले करिब ९० लाख रुपैयाँ फिर्ता गरेका हुन् । देशका सात तालिम केन्द्रमा पासिङ आउट खर्च भन्दै २ हजार जवानबाट ५ देखि १० हजारसम्म रकम उठाइएको थियो ।
सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालको सचिवालयमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेका रिक्रुटहरूले उजुर हालेपछि छानबिनका लागि टोली खटिएको थियो ।
लगत्तै सबैतिर ३–३ सदस्यीय टोली खटिएपछि तिनले ठाउँमा पुगेर भ्रष्टाचार र अनियमितता ठहर गर्नुअघि नै समादेशकहरूले धमाधम रकम फर्काउन शुरु गरेका हुन् ।
सोही क्रममा काठमाडौंमा समादेशकहरूको सम्मेलन गराएर आइजिपी राजु अर्यालले नरम भाकामा झाँको झारेको बताइन्छ । सो सम्मेलनमा आइजिपीले पैसा फिर्ता गरे पनि नियत खराब भएको जनाउ दिएका थिए ।
फिर्ता गरिएको रकममध्ये कतिपयले नगद पाए भने कतिपयलाई बैंकमार्फत भुक्तान गरिएको हो । ती जवान गत जेठ ८ गते पास आउट भएका हुन् ।
बाहिनीपतिहरुले गण, गुल्मबाट मासिक उठाउने हुँदा तल अनुगमन नहुने भएपछि यस्ता अनियमितता बढ्ने हुन् । हेडक्वार्टरबाट छानबिन टोली नगएको भए यो कुरा पनि त्यत्तिकै सेलाउने थियो ।
एकचोटि यतिसम्म बदमासी गरेको ठहर भइसकेपछि त्यस्ता हाकिमलाई फेरि कमाण्ड दिँदा पचासचोटि सोध्नुपर्ने सुझाव नेतृत्वलाई दिइएको छ ।
टिप्पणीहरू