प्रशासकीय अधिकृत भागेपछि नगरसभा स्थगित, मन्त्री श्रेष्ठ र जसपा नेतृत्व दोषी रहेको मेयरको आरोप
बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत २८ दिनदेखि सम्पर्कविहीन हुँदा नगरसभा रोकिएको छ । जसपाका नेताहरुले धम्की दिएकाले काम गर्न नसक्ने ‘म्यासेज’ पठाएर सम्पर्कविहीन भएका निमित्त प्रशासकीय अधिकृत श्यामप्रसाद यादव बेपत्ता हुँदा नगरपालिकाको दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ ।
यादव कार्यालयमा उपस्थित नहुँदा नगरपालिकाका सम्पूर्ण कार्य रोकिएको मेयर जलन्धर सिंह जैसवालले जानकारी दिए । उनका अनुसार अधिकृत यादव पछिल्लो पटक असार ७ गते कार्यालय आएका थिए । सोही दिन १२ बजेतिर उनले आफूलाई जसपाका नेताहरुले धम्की दिएकाले काम नगर्ने भन्दै म्यासेज पठाएका थिए । त्यसपछि मोबाइल अफ गरेका उनी अहिलेसम्म सम्पर्कविहीन छन् ।
प्रशासकीय अधिकृत नहुँदा नगरसभा बस्न नसकेको र त्यहि कारण करारका कर्मचारीको म्याद थप तथा नयाँ कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन नसक्दा साउन १ गतेदेखि सेवा ठप्प भएको मेयर जैसवालको भनाइ छ । उनका अनुसार करार सेवाका ९८ जना कर्मचारीको सम्झौता नवीकरण हुन सकेको छैन भने कर्मचारीको तलब भत्ता, विद्यालयको छात्रवृत्ति रकम वितरणलगायत नगरपालिकाका सबै कामकाज प्रभावित भएको हो ।
स्वास्थ्य सेवामा कार्यरत २२ जनाको करार म्यादको समय थप्न नसक्दा आजदेखि स्वास्थ्य सेवा पनि बन्द भएको छ । मेयर जैसवालले आज एक सूचना जारी गरेर नगर अस्पतालका सेवा, बर्थिङ्ग सेन्टरका सेवा र पिपरपाती पचरौता स्वास्थ चौकीको ल्याब सेवा बन्द गरिएको जानकारी दिए ।
नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिका लागि नगरपालिकाले गरेको प्रस्तावमा संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ सहमत नहुँदा समस्या लम्बिएको मेयरको दुःखेसो छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको लागि मन्त्रालयमा पत्राचार गरेको भए पनि मन्त्री श्रेष्ठले राजनीतिक प्रभावमा परेर निर्णय कार्यान्वयन गर्न आनाकानी गरेको जैसवालको आरोप छ ।
‘मन्त्रालयले कि दरबन्दीअनुसार कर्मचारीको व्यवस्था गर्नुपर्छ, होइन भने नगरपालिकाले गरेको निर्णयको आधारमा निमित्त खटाउनु पर्यो,’ उनले भने, ‘तर कर्मचारी नै नपठाएर नगरपालिकाको काम प्रभावित पार्ने अधिकार कसैलाई छैन ।’ उनले मन्त्री श्रेष्ठका कारण नगरपालिकाको नगरसभा स्थगित भएको आरोप पनि लगाए ।
मन्त्री श्रेष्ठले उपसचिव सूर्य दाहाललाई पठाउने आश्वासन दिएर त्यसै अल्झाएको मेयर जैसवाल बताउँछन् । तर, पूर्वमेयर रमेशकुमार यादवका मान्छे भनेर चिनिएका दाहाललाई अस्वीकार गरेपछि मन्त्रालय अहिले नगरसभा नै बिथोल्ने षड्यन्त्रमा लागेको उनको आरोप छ ।
मेयर जैसवाल एमालेबाट निर्वाचित हुन् तर, नगर कार्यपालिकामा जसपाको बहुमत छ । पूर्वनगर प्रमुख यादवले राजनीतिक पूर्वाग्रहमा नगरपालिकालाई असफल पार्ने षड्यन्त्र गरेको सिहंले आरोप लगाए । त्यसमा संघीय मामिलामन्त्री र जस्पाका नेताको समेत संलग्नता रहेको उनको आशंका छ ।
टिप्पणीहरू