वामदेवले पहिला चिन्ह लिने अनि कलममा मिसिने

वामदेवले पहिला चिन्ह लिने अनि कलममा मिसिने

विघटित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने अभियानका साथ राजनीतिक सक्रियता बढाउनु भएका नेता वामदेव गौतमले नयाँ पार्टी दर्ताको प्रक्रिया थाल्नुभएको छ । गौतम आफैँ संयोजक रहने गरि हिजो दिउँसो निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको हो ।

निर्वाचन आयोगमा पटक-पटक फोन गरेर दल दर्ताको प्रक्रियाबारे बुझ्नुभएका उहाँले यसअघि घोषणा गरेको ‘नेकपा (एकता राष्ट्रिय अभियान)’ पार्टी दर्ता गर्न निवेदन दिनुभएको र दर्ता नम्बर ६४ रहेको बताइएको छ । त्यस्तै, ३ वटा चुनाव चिह्न प्रस्ताव गरिएको बुझिएको छ ।

वामदेव निकट स्रोतका अनुसार पार्टी दर्तालगत्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकीकरण गरेर चुनाव जाने तयारीका साथ् छलफल चलिरहेको छ । नेकपा ब्युँताउने भनिए पनि तत्काल एमाले र माओवादी मिल्ने सम्भावना नरहेकाले समाजवादीमा मिसिएर त्यहीबाट एकताको पहल लिने गरि वामदेव र माधव नेपालको कुरा मिलेको बताइन्छ ।

त्यसैअनुसार तत्कालिन नेकपाको ९ सदस्यीय सचिवालयका पाँच जना पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव र नारायणकाजी श्रेष्टले हिजो दोस्रोचोटी भेटघाट भएको थिए । तत्कालीन नेकपाको अन्तरसंघर्षमा एक ठाउँमा उभिएका बहुमत नेतहरुको छलफलमा एमाले र काँग्रेसको पछिल्लो निर्णय, नेकपा ब्युताउने वामदेवको प्रस्ताव, आगामी निर्वाचन, समाजवादी केन्द्र गठनको सम्भावना लगायतका विषयमा खुलस्त कुराकानी भएको बताइएको छ ।

तत्काल आ-आफ्नै पार्टीमा रहेर संयोजन समिति बनाएर वार्ता थाल्ने र निकट भविष्यमा एमालेसहित वाम गठबन्धन गर्ने गौतमको प्रस्तावमा अरु चार नेताले सहमति जनाएको वामदेव निकट एक नेताले बताएका छन् । उनका अनुसार चुनाव अघि नै त्यो सम्भव नहुँदा समाजवादीसँग एकीकरण गरेर चुनावमा जाने तयारीका साथ् दल दर्ताको प्रक्रिया अघि बढाईएको हो ।

टिप्पणीहरू