लेउ र किरा भएको ‘मिनरल वाटर’
भक्तपुरको चाँगुनारायण नगरपालिका, झौखेलस्थित एक पानी उत्पादन कम्पनीको जारभित्र लेउ र किरा भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा अनुगमन गर्न पुगेको टोलीले जारको पानीमा लेऊ र किरा भेटेको हो ।
उपत्यकामा हैजा फैलिएपछि अनुगमनमा निस्किएको सहायक प्रजिअ शर्माले बताउनुभयो । अनुगमनको क्रममा पानी उत्पादन कम्पनीको चरम लापरवाही भेटिएको उहाँको भनाइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासंघ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघलगायत सरोकारवाला निकायको टोलीले छ वटा पानी कम्पनीमा अनुगमन गरेको थियो ।
टोलीले दुई वटा उद्योगको पानी परीक्षणका लागि नमूना संकलन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको छ ।
परीक्षणको रिपोर्ट आएपछि कारबाही अघि बढाइने सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो । त्यसैगरी, स्थलगत अनुगमनमा पुगेको टोलीले पुराना जारहरु पनि नष्ट गरिदिएको छ । पछिल्लो समय पानी उत्पादक कम्पनीहरुले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालका पानी बेच्दै आएका छन् ।
हालैमात्र मिनिरल वाटरको बोटलभित्र माकुरो भेटिएको खबर बाहिरिएको थियो ।
टिप्पणीहरू