कमरेडहरुको टेलिभिजन बाहिर पत्रकारको धर्ना
महिनौंदेखि तलब नपाएका जनता टेलिभिजनका पत्रकारहरुले नयाँ बानेश्वरस्थित कार्यालयको गेटबाहिर धर्ना दिएका छन् । टेलिभिजनले लामो समयदेखि आश्वासन मात्र दिएको तर तलब नदिएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलन थालेका हुन् ।
श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा कालो व्यानरसहित धर्ना थालिएको छ । आफूहरुले पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने अडान उनीहरुले लिएका छन् ।
उनीहरुले जनता टिभीका सम्पूर्ण श्रमजीवी पत्रकारको बाँकी बक्यौता तत्काल भुक्तानी गर, पटकपटक झुक्याएर पत्रकारलाई दुःख दिने हर्कत बन्द गरलगायतका नारा लगाएका छन् ।
त्यसैगरी, श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा र सामाजिक सुरक्षाकोष तत्काल लागु गर्नुपर्ने माग पनि राखिएको छ । टिभीले पारिश्रमिक दिन आलटाल गरेपछि त्यहाँ कार्यरत पत्रकारहरुले हिजोबाट रिपोर्टिङमा नजाने, एउटा डेस्क र एउटा भिडियो सम्पादन गर्ने कम्प्युटरबाहेक अन्य सबै कम्प्युटर सटडाउन गर्ने, पीसीआरबाट हुने लाइभ र रेकर्डिङ बन्द गर्ने निर्णय लिएका छन् ।
टिप्पणीहरू