प्रधानमन्त्रीले चिठी नलेखेकोमा झलनाथ आगो

प्रधानमन्त्रीले चिठी नलेखेकोमा झलनाथ आगो

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयवारे अमेरिकालाई लिखित जानकारी गराउन कसले रोक्यो ? भनी प्रश्न गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अमेरिकालाई पत्र लेख्न कसले अनि किन रोक्यो ? भन्दै सरकारलाई प्रश्न सोध्नुभएको हो । ‘संसद र क्याबिनेटबाट प्रस्ताव अस्वीकार गर्ने र अमेरिकालाई औपचारिक पत्र लेख्ने निर्णयलाई रोक्ने अर्को कार्यकारी अधिकार कता छ ?,’उहाँले सोध्नुभयो ।

नेता खनालले यस विषयलाई गम्भीरताका साथ लिएर चाँडोभन्दा चाँडो समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ । एसपीपीलाई लिएर विवाद बढेपछि क्याबिनेटले सम्झौता अस्वीकार गर्ने र अमेरिकालाई जानकारी गराउने निर्णय गरेको थियो । तर, अहिलेसम्म सरकारले पत्र पठाएर अमेरिकालाई जानकारी गराएको छैन ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालले हिजो एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएपछि सत्तापक्षकै नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्ट बनेका हुन् ।

टिप्पणीहरू