उत्तर कोरियाले दियो डोनेस्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता

उत्तर कोरियाले दियो डोनेस्क र लुगान्स्कलाई स्वतन्त्र राष्ट्रको मान्यता

उत्तर कोरियाले युक्रेनबाट छुट्टिएका दुई राज्यलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको छ । त्यहाँको परराष्ट्र मन्त्रालयका प्रवक्ताले जनवादी गणतन्त्र डोनेस्क र जनवादी गणतन्त्र लुगान्स्कको स्वतन्त्रतालाई मान्यता दिएको जानकारी गराएका हुन् ।

उत्तर कोरियाले गत असार २९ गते ती राज्यले गरेको स्वतन्त्रताको घोषणालाई मान्यता दिने निर्णयसँगै दुई मुलुकको सम्बन्धका आधार वैचारिक,शान्ति र मित्रता हुने जनाएको छ ।

कोरियाले भनेको छ, ‘जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानमा आधारित राज्यहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्नु सार्वभौमसत्ता सम्पन्न राष्ट्रको अन्तर्निहित र वैधानिक अधिकार हो । यो संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तका आधारमा हुनेछ ।’

यसैबीच रुसले अब आफ्ना सेना युक्रेनको पूर्वी क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिएको छ । विदेशमन्त्री सेर्गेइ लाभ्रोभले सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै रुसको सैन्य चासो अब विस्तारित हुन लागेको बताएका हुन् ।

अमेरिकालगायत पश्चिमा राष्ट्रहरुले युक्रेनलाई लामो दूरीसम्म प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएकाले आफ्नो देशको रणनीति परिवर्तन भएको उनको भनाइ छ । ‘अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्न युक्रेनी सेनालाई युद्ध मोर्चाबाट टाढा पुर्याउनुपर्छ,’ विदेशमन्त्रीले भने ।

युक्रेनमाथि पाँच महिनाअघि रुसी आक्रमण भएको थियो । यो अवधिमा उसले युक्रेनको पूर्वी र दक्षिणका केही भागहरू कब्जा गरिसकेको छ । तथापि,राजधानी किभ नियन्त्रणमा आइसकेको छैन ।

प्राप्त पछिल्लो विवरणअनुसार युक्रेनले रुसी सेनाले कब्जा जमाएको खेरसनस्थित एउटा महत्वपूर्ण रणनीतिक पुलमा जवाफी हमला गरिरहेको छ । दुई दिनसम्म उक्त पुल युक्रेनको नियन्त्रणमा आउन नसकेको बिबिसीले जनाएको छ ।

टिप्पणीहरू