जनआस्थाको समाचारपछि जंगी अड्डामा अदालत सुचारु,चिया बन्द
सातामा बिहीबार मात्रै बस्ने सैनिक विशेष अदालतको इजलास आज सैनिक मुख्यालयमा तोकिएको समयमै बस्यो । बिहान साढे ११ नबज्दै उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी त्यहाँ पुग्नुभयो । रक्षा सचिव किरणराज शर्मा र प्राड उपरथी रत्नप्रकाश थापा पनि सोही समय इजलासमा पुग्नुभयो ।
न्यायाधीश पुडासैनी उक्त अदालतको अध्यक्ष हुनुहुन्छ । वर्षौंदेखि मुद्दा थुप्रिए पनि इजलासले एकाध घण्टाको समय समेत नदिएको खबर हिजो जनआस्था साप्ताहिक र जनआस्था डट कममा प्रकाशित भएको थियो । ९६ हप्तामा जम्मा पाँच वटा, त्यो पनि सामान्य प्रकृतिका मुद्दा छिनोफानो गरेर झारा टारेको आरोप उक्त अदालतलाई लाग्दै आएको छ ।
जनआस्थाले कानुनले तोकेको एक दिनको जिम्मेवारी पनि पूरा नगरेपछि सैनिक विशेष अदालतले सैनिकलाई दिएको सास्ती शीर्षकमा समाचार प्रकाशित गरेको हो ।
आज बिहान साढे ११ बजेदेखि बसेको इजलासले दुई वटा मुद्दामाथि सुनुवाई गरेको छ । पहिलो नम्बरमा क्याप्टेन सुवाष थापाको मुद्दाको सुनुवाई सकाइएको छ । रक्षासचिव शर्मा जरुरी बैठकका कारण साढे २ बजे निस्कनु परेकाले थापाको मुद्दाको आदेश भोेलि सार्वजनिक हुने बताइएको छ ।
‘रक्षा सचिव दुई वटा मुद्दाको सुनुवाई पछि बैठक छ भनेर निस्कनुभयो,’ सैनिक स्रोतले भनेको छ । आज उक्त मुद्दाको लिखित आदेश तयार भए पनि दस्तखत नभएकाले भोलि सार्वजनिक हुने भएको हो ।
दिउँसोको चिया ब्रेक पनि नगरी साढे २ बजेसम्म इजलास सुचारु भएकाले दोस्रो नम्बरको मुद्दामाथि पनि कानुन व्यवसायीले बहस गरेका थिए । उक्त मुद्दामा अनिल खड्का पक्षका वकिलले बहस गरेका हुन् ।
जनआस्थामा प्रकाशित समाचारका कारण आज समयमा इजलास शुरु भएकोमा कानुन व्यवसायीहरु पनि दंग देखिन्थे । एक जना कानुन व्यवसायीले भने,‘आज दिउँसोको चिया ब्रेक पनि भएन । साढे २ घण्टासम्म लगातार बहस भयो । एउटा सकाएर अर्को मुद्दाको फाइलसमेत खोलियो । आफ्नै भाइ छोराको जागिर जाँदाको पीडा सम्झेर यसरी नै निरन्तर र इमान्दारिताका साथ सुनुवाई भएको भए सैनिक विशेष अदालतको आलोचना नै हुँदैनथ्यो होला ।’
टिप्पणीहरू