पाण्डेलाई हटाउन निवेदन परेपछि अध्यक्षले बैठक छोडेर

पाण्डेलाई हटाउन निवेदन परेपछि अध्यक्षले बैठक छोडेर

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा करिब दुई घण्टा ढिला गरी शुरु भएको बैठकमा कार्यसमितिका १२ जना सदस्यले पहिलो बैठकको निर्णय सच्याउन माग गर्दै हस्ताक्षर अभियान थालेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिँडेको स्रोतले बतायो ।

नेम्वाङले ०७९ जेठ ८ गते बसेको पहिलो बैठकबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेका नवीन पाण्डेलाई बर्खास्तीको माग गर्दै निवेदन परेको बताइएको छ । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष विराटजंग शाहीले निवेदन दिएका हुन् । श्रम स्वीकृति नलिई जर्मन नागरिक पाण्डेलाई नियुक्त गर्ने निर्णय विधानविपरित रहेको निवेदनमा भनिएको छ ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएपछिको पहिलो बैठकले महासचिव,अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषाध्यक्षमा क्रमशः किरण राई,नविन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरेको थियो । प्रक्रिया पूरा नगरी नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएपछि अहिले त्यो निर्णय सच्चाउन खोजिएको कार्यसमितिका एक पदाधिकारीले बताए ।

आजको बैठकमा सिइओ,तीन सहमहासचिव र प्रवक्ता नियुक्तिसँगै नेपालमा हुने तय भएको महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल)को बारेमा निर्णय लिने एजेण्डा थियो ।

यसअघि सोमबार नेम्वाङ अचानक बिरामी परेको भन्दै स्थगित गरिएको बैठक आजलाई बोलाइएको हो ।

टिप्पणीहरू