कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको अनुरोध

कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण ह्वात्तै बढेपछि सतर्कता अप्नाउन आग्रह गरेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न अनुरो गरेको हो ।

मन्त्रालयले जारी गरेको १० बुँदे सूचनामा सबै सरकारी, गैरसरकारी कार्यालय तथा सर्वसाधारणको भिडभाड हुने ठाउँमा अनिवार्य मास्क लगाउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ ।

त्यसैगरी, विमानस्थल, हवाईजहाजलगायत सार्वजनिक यातायात, गोष्ठी, सेमिनार, बैठक, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, मनोरञ्जनस्थलमा पनि आवश्यक सतर्कता अपनाउन सुझाइएको छ ।

संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिइएको छ ।

मन्त्रालयले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिलाई खोप लगाउनसमेत अनुरोध गरेको हो ।

अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न, भिडभाड हुने स्थानमा नमूना परीक्षण अभियान सञ्चालन गर्न, संक्रमण पुष्टि भई होम आइसोलेसनमा बस्न उपयुक्त नभएका व्यक्तिलाई अस्पताल पठाएर उपचारको प्रबन्ध मिलाउन पनि भनिएको छ ।

कोभिड १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा १११५ नम्बर वा फोनमार्फत चिकित्सकीय सेवा आवश्यक परेमा ११३३ नम्बरमा फोन गर्न सूसुचित गराइएको छ ।

टिप्पणीहरू