डिआइजी नलप्रसादद्वारा तलमाथि नगरेको दावी

डिआइजी नलप्रसादद्वारा तलमाथि नगरेको दावी

जनआस्था अनलाइनमा हिजो राती प्रकाशित ‘आयो चुनाव,प्रहरीमा लुट्नलाई झनै छुट ?’ शीर्षकको समाचारप्रति लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गका नायव महानिरीक्षक (डिआइजी) नलप्रसाद उपाध्यायले खण्डन गरेका छन् । आफूसंग सम्बन्धित समाचारमा चित्त नबुझाएका उनले आज जनआस्था साप्ताहिकका नाममा पत्र पठाएका हुन् ।

हिजो साउन ५ गते डिआइजी उपाध्यायले गरेका कतिपय गलत काम र उनको कमजोर कार्यसम्पादनका विषयसमेत समेटेर समाचार प्रकाशित भएको थियो । आज बिहान सम्पर्कमा आएका उनले समाचारमा उल्लेख विषय र विवरण तथ्यहीन रहेको र त्यसले आमरुपमा आफू र प्रहरी संगठनप्रति नकारात्मक धारणा बनाएको गुनासो पोखेका छन् ।

समाचारको सत्यतामाथि प्रश्न उठाएका डिआइजीको भनाइ छ, ‘वास्तविकता नबुझीकन प्रकाशित यस्ता लेखहरुले जनमानसमा प्रहरीप्रतिको छविमा शंका गर्ने ठाउँ उब्जिन्छ । म आएपश्चात प्रदेश प्रहरी कार्यलयहरुबाट गलत कार्यको लागि घुमुवाहरु परिचालित भएको छैन ।’

उनले आफू प्रदेश कार्यालयमा प्रमुख भएर आएपछि सीमा नाकामा हुने चोरी निकासी-पैठारी रोकिएको र त्यसले राजश्व संकलन बढेको तथ्यसमेत पेश गरेका छन् । सुरक्षा व्यवस्था राम्रो भएकै कारण वैशाख ३० को स्थानीय चुनाव प्रदेशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको उनको दावी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणसमेत सफल बनाएर आफ्नो नेतृत्वमा प्रहरीले उत्कृष्ट काम गरेको दावी गर्दै उनले समाचारमा भनेजस्तो आफू कार्यसम्पादनमा कमजोर नरहेको उल्लेख गरेका छन् ।

तथापि,जनआस्थाले पनि हचुवाका भरमा भने समाचार लेखेको होइन । ‘सत्य,सेवा सुरक्षणम्’ को आवरणमा प्रहरी संगठनमा हुने गलत कार्यप्रति निरन्तर खवरदारी गर्नु सञ्चार माध्यमको जिम्मेवारी र दायित्व पनि हो । कुनै व्यक्ति,पात्र विशेषप्रति खास सरोकार होइन र हुनु हुँदैन । मुलुकको सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहेको संस्था र व्यक्तिका कारण बदनाम नहोस् भन्नेतर्फ सबैलाई सचेत गराउने जिम्मेवारीका साथ समाचार सम्प्रेषण गरिएको हो । यसका बाबजुद समाचारमा सम्बन्धित पक्षको चासो र सरोकारको सम्मान गर्छौँ ।

यस्तो छ डिआइजी उपाध्यायको खण्डन

प्रस्तुत विषयमा मिति २०७९/४/५ गते जनआस्था अनलाइनमा प्रकाशित शीर्षक ‘आयो चुनाव प्रहरीमा लुट्नलाई झनै छुट’ लेखप्रति मेरो गम्भीर ध्यानाकर्षण तथा आपत्ति रहेको छ । म आएपश्चात प्रदेश प्रहरी कार्यलयहरुबाट गलत कार्यको लागि घुमुवाहरु परिचालित भएको छैन ।

यस प्रदेश कार्यलयबाट कुनै पनि घुमुवाहरु खटाइएको छैन । आर्थिक वर्ष ०७७/७८ को ज्येष्ठ महिनामा ७४,७८,३४२ रुपैयाँ बराबरका चोरी निकासी पैठारीका सामानहरु बरामद गरी राजश्व कार्यालयमा बुझाएकोमा आर्थिक वर्ष ७८/७९को ज्येष्ठ महिनामा बृध्दि भई १,३०,७५,०८८ पुगेको छ । त्यस्तै, आर्थिक वर्ष ०७७-०७८ को असार महिनामा २,४६,१२,०२० बुझाएकोमा ७८ /७९ को असार महिनामा बृध्दि भई २,८१,६९,०८१ बुझाइएकोमा समष्टिगत आर्थिक वर्ष ७७/७८ को वर्षभरि २३,९७,४४,७४४ र आर्थिक वर्ष ७८/७९ मा बृद्दि भई २६,३१,५६, ५४४ बराबरको चोरी निकासी पैठारीका सामानहरु बराामद गरी राजश्व कार्यलयमा बुझाएकोमा उल्लेखित तथ्यांकले चोरी निकासी पैठारीमा प्रहरीले गरेको काम कारबाही प्रष्ट हुन आउँछ ।

गत स्थानीय चुनाव अन्य प्रदेशको तुलनामा अत्यन्तै शान्तिपूर्वक सम्पन्न गराइएको र भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ऐतिहासिक लुम्बिनी भ्रमणलाई समेत सफल तुल्याई उल्लेखनीय कार्य गरेको, अपराध नियन्त्रणतर्फ पनि उल्लेखनीय कार्यहरु भएको, कुनैपनि जघन्य प्रकृतिका घटनामा अपराधीहरु पक्राउ गरेको,विगतका फरार अपराधीहरु पनि उल्लेख्य मात्रामा पक्राउ गर्न सफल रहेको, अवैध रुपमा चौपाया गाईगोरु रोकथाम गर्नेतर्फ कडाईका साथ प्रस्तुत भई हाल पूर्ण रुपमा नियन्त्रण गरिएको तथा हालसम्मको प्रदेश भरिको शान्ति सुरक्षाको स्थिति सुदृढ र मजबुत रहेको व्यहोरासमेत जानकारी गराउँदछु ।

आर्थिक वर्ष ७७/७८ मा १९,३२,४२,५०० ट्राफिक राजश्व संकलन गरेकोमा आर्थिक वर्ष ७८/७९ मा राजश्व बृध्दि भई २०,०८९५,००० राजश्व संकलनसमेत भएको,प्रदेशभर ट्राफिक दुर्घटनामा कमी ल्याउन मेरो विषेश अगुवाइमा चालक र यात्रुसँग १ एक मीनेट अन्तरक्रिया तथा विभिन्न चार ठाउँहरुमा अस्थायी रिफ्रेस सेन्टर खडा गरी कार्यक्रम सञ्चालन गरिएबाट ज्येष्ठ र असार महिनामा दुर्घटनामा समेत आश्चर्यजनक रुपमा कमी आएको ब्यहोरासमेत सम्प्रेषण गरिदिनु हुन समेत बिनम्र अनुरोध गर्दछु ।

टिप्पणीहरू