हुण्डी कारोबारको नयाँ स्वरुप, पिटिइको नाममा डलर कारोबार कुरुप

हुण्डी कारोबारको नयाँ स्वरुप, पिटिइको नाममा डलर कारोबार कुरुप

केही वर्षयता उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । गुणस्तरीय शिक्षा आर्जन गर्ने बताउँदै विद्यार्थीहरु धमाधम बाहिरिँदै छन् । अध्ययनका लागि विदेश जानेहरुको प्रमुख गन्तव्य अमेरिका बनेको छ ।

विदेशमा अध्ययन गर्न जाँदा सम्बन्धित मुलुकको भाषासम्बन्धी राम्रो ज्ञान हुनैपर्छ । अझ अमेरिका जाने विद्यार्थीले अंग्रेजी फरर बोल्न सक्नुपर्छ । अंग्रेजी भाषा सिक्न पिटिइ (पर्सनल टेष्ट अफ इंग्लिस) सजिलो हुने भएकाले विद्यार्थीहरु यसतर्फ आकर्षित भएका हुन् ।

पिटिई अंग्रेजी भाषामा दक्षता प्रमाणित गर्न लिइने एक किसिमको परीक्षा हो । नेपालका मुख्य शहर काठमाडौं,पोखरा र चितवन गरी पिटिइका जम्मा सात वटा केन्द्र छन् जसमा दिनहुँ परीक्षा सञ्चालन हुन्छ ।

तर,ती परीक्षा केन्द्र रजिष्ट्रार कार्यालयमा दर्ता भएका छैनन् । राजधानीको नयाँ बानेश्वरस्थित अल्फा बिटा,एटलस स्टार आइटी सेन्टर,थापाथलीको ब्रिटिश प्रोफेशनल कलेज,डिल्लीबजारको बोओट वर्ल्ड वाइडलगायत संस्थामा पिटिइको परीक्षा लिइन्छ ।

त्यसैगरी,भरतपुरस्थित चितवन मेडिकल कलेज,ललितपुरको ग्वार्कोस्थित काठमाडौं कलेज अफ म्यानेजमेण्ट र पोखराको चितवन मेडिकल कलेजमा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म परीक्षा सञ्चालन भइरहेको छ । अत्यधिक चर्चामा रहेका यी संस्था नेपालको कानूनबमोजिम दर्ता नभइकन गैरकानूनी तरिकाले सञ्चालनमा रहेको पाइएको छ ।

“दैनिक पाँच सय विद्यार्थीको परीक्षा दस्तुरले हुन आउने नौ हजार अमेरिकी डलर र मासिक दुई लाख ७० हजार डलर गरी वार्षिक ३२ लाख ४० हजार अमेरिकी डलरको हुण्डी कारोबार सजिलैसँग भएको पाइन्छ । नेपाली रुपैयाँमा उक्त रकम चार अर्ब हुन आउँछ ।”

हाल पिटिइ परीक्षा दिनका लागि प्रत्येक परीक्षार्थीले १८० अमेरिकी डलर तिरिरहेका छन् । नेपालका बैंकबाट सो परीक्षावापतको शुल्क बुझाउँदा १५ प्रतिशत अतिरिक्त कर तिर्नुपर्ने हुन्छ । १८० मा कर जोड्दा विद्यार्थीलाई २७ डलर बढी पर्न जान्छ ।

तर,हुण्डी कारोबारीहरुले विदेशबाट १० देखि ४९ वटाको १७१ र ५० भन्दामाथि १६२ डलरमा कुपन खरिद गरेर विद्यार्थीलाई १८० डलरमा बेचिरहेको पाइएको छ । पिटिइको नाममा यसरी वार्षिक ४ अर्ब रुपैयाँ हुण्डी गरी नेपालबाट पैसा बिदेश लैजाँदा सरकार र नेपाल राष्ट्र बैंक बेखबर देखिन्छ ।

हुण्डी कारोबारी र शैक्षिक परामर्शदाताको संलग्नतामा ५० भन्दा बढी भौचर १६२ अमेरिकी डलरमा किनेर नेपाली विद्यार्थीलाई १८० मा बिक्री गरी व्यापक कर छली गरिएको स्रोतको दाबी छ ।

यता,विद्यार्थीहरुले भने सस्तो शुल्कमा परीक्षा दिएको बताए पनि उनीहरुसँग अतिरिक्त शुल्क तिरेको कागजात छैन । दैनिक पाँच सय जना विद्यार्थीले दिने परीक्षा केन्द्रमा कर कार्यालयका अधिकृत पुगेर विद्यार्थीको पेमेन्ट भौचर चेकजाँच गर्ने हो भने हुण्डी कारोबारको ठूलो सञ्जाल भत्किने निश्चित छ । तर यो गर्ने कसले ? राष्ट्र बैंक निर्देशन जारी गर्न व्यस्त छ,अर्थ मन्त्रालय राष्ट्र बैंकतिर देखाएर पन्छिरहेको छ ।

एक अध्ययनअनुसार दैनिक पाँच सय विद्यार्थीको परीक्षा दस्तुरले हुन आउने नौ हजार अमेरिकी डलर र मासिक दुई लाख ७० हजार डलर गरी वार्षिक ३२ लाख ४० हजार अमेरिकी डलरको हुण्डी कारोबार सजिलैसँग भएको पाइन्छ । नेपाली रुपैयाँमा उक्त रकम चार अर्ब हुन आउँछ ।

टिप्पणीहरू