शाही घोषणाको ड्राफ्ट काँग्रेसले गरेको तर एमाले अध्यक्षले झुठो बोलेको रामचन्द्रको दाबी
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वराजा ज्ञानेन्द्र शाहको शाही सम्बोधनको ड्राफ्ट आफूले गरेको एमाले अध्यक्ष केपी ओलीको दाबीलाई सरासर झूठ भन्नुभएको छ । आज हेटौँडामा प्रेस युनियन नेपालको ९ औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जनतालाई भ्रममा पार्न ओलीले झूठको सहारा लिएको दाबी गर्नुभयो ।
गत असार २४ गते एक सार्वजनिक कार्यक्रममा ओलीले २०६३ वैशाख ११ गते पूर्वराजाको सम्बोधन आफूले बल्खुको रुद्राक्षको बोटमुनी बसेर लेखेको दाबी गर्नुभएको थियो । राजनीतिक नेतृत्वबाट त्यसको औपचारिक खण्डन नभए पनि त्यतिबेला ओलीको उक्त दाबीलाई लिएर धेरैले प्रश्न उठाएका थिए । तर, लामो समयपछि आज त्यसबारे मुख खोल्दै पौडेलले ओलीले झूठो बोलेर जनतालाई भ्रमित पारेको बताउनुभएको हो । उहाँले यस्ता भ्रम चिर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले त्यसतर्फ ध्यान दिन पत्रकारहरुलाई आग्रहसमेत गर्नुभयो ।
‘राजाका प्रमुख सचिव महाराजगञ्जमा आएर तीन पटकसम्म पत्र सच्याउँदै जान्थे,अनि राजाले जारी गरेको घोषणालाई केपी ओलीले मैले लेखेको वक्तव्य भनेर भने । त्यस्तो किसिमको झूठो सूचना जनतालाई दिने । यस्ता धेरै गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको छ । नेपाली काँग्रेसलाई गलत बुझाईको शिकार बनाउन खोजिएको छ ।’
ओलीले नाटकीय रूपमा सम्बोधन ड्राफ्ट गरेको भने पनि त्यस समयमा उनी कुनै आन्दोलनमै नरहेको पौडेलको दावी छ । पौडेलले भन्नुभयो, ‘केपी ओलीले केही दिनअघि राजाले गरेको घोषणा मैले बल्खुमा बसेर लेखेको हो भन्नुभयो । नाटकीय रूपमा ओलीको अभिव्यक्ति आएको थियो, तर त्यो आन्दोलनमा उहाँ कहाँ हुनुहुन्थ्यो मलाई थाहा छैन ।’
नेता पौडेलले सम्बोधनको पत्र काँग्रेसले सच्याएर राजाले पढेको पनि जिकीर गर्नुभयो । भन्नुभयो, ‘राजाका प्रमुख सचिव महाराजगञ्जमा आएर तीन पटकसम्म पत्र सच्याउँदै जान्थे,अनि राजाले जारी गरेको घोषणालाई केपी ओलीले मैले लेखेको वक्तव्य भनेर भने । त्यस्तो किसिमको झूठो सूचना जनतालाई दिने । यस्ता धेरै गलत सूचना दिएर जनतालाई दोधारमा पारिएको छ । नेपाली काँग्रेसलाई गलत बुझाईको शिकार बनाउन खोजिएको छ ।’
टिप्पणीहरू