‘किरात’ सभ्यता हो स्वीकार गरौँ
–निनाम लोवात्ती
यतिबेला १ नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा बहस र छलफल भई रहेको छ । एक पक्षले ‘अरुण’, ‘बरुण’, ‘अरुण–कोशी’, ‘कोशी–किरात’, ‘किरात–कोशी’, ‘सगरमाथा–किरात’, ‘किरात–सगरमाथा’, ‘सुनकोशी–सगरमाथा’, ‘मेची–कोशी–सगरमाथा’, ‘कन्काई’, ‘विराट’, ‘हनुमाननगर’, ‘पूर्वाञ्चल’, ‘पाथीभरा’ जस्ता नामका पक्षमा वकालत गरिरहेका छन् । अर्को पक्षले ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात’ नाम रहनुपर्ने/राख्नुपर्ने भनी आवाज उठाई रहेका छन् । तर, प्रदेश १ को नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात’ हुनुपर्छ भनी आवाज उठाउनेहरुको स्वर साह्रै मसिनो स्वरमा सुनिनेएको छ । यस्तो हुनुमा नेपालका मूलधारका भनिने मिडियाहरुले साथ नदिनु नै हो ।
त्यसैले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ राख्न नसक्ने र, सबैले स्वीकार गर्न पनि अलि गाह्रैपर्ने हुनाले कम्तिमा ‘किरात’ नाम राख्न सकिन्छ, राख्नु पनि पर्छ । किनभने ‘किरात’ भनेको केवल एक जाति नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो भने किरात शब्द प्राचीन धर्म–ग्रन्थहरुमै पनि उल्लेख गरिएको छ । त्यसैले प्रदेशको नाम ‘किरात’ राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नभई इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्म–ग्रन्थ आदिलाई स्वीकारेको ठहर्छ । अझ किरातीहरु अहिले आएर एक जाति मात्रै नभएर महाजाति भई सकेका छन् । किनभने, किरात भनेर आफूलाई दावी गर्ने जातिहरु अहिले दुई दर्जनभन्दा पनि बढी रहेका छन् । जस्तै ‘आठपहरिया’, ‘कुलुङ’, ‘खालिङ’, ‘थामी’, ‘धिमाल’, ‘बान्तावा’, ‘बाहिङ’, ‘मेवाहाङ’, ‘याम्फु’, ‘जिरेल’, ‘हायु’, ‘लिम्बु’, ‘याक्खा’, ‘सुनुवार’ आदी छन्, जुन जातिहरुलाई किरात भनेर चिनिन्छ । अथवा उनीहरुले आफूलाई किराती भनी चिनाउँछन् ।
हुन पनि ‘किरात सभ्यता’लाई प्रायः सबै इतिहासकार तथा लेखकहरुले विश्वकै सबैभन्दा पूरानो सभ्यता र व्यापक रुपमा फैलिएको सभ्यतामध्ये एक मान्ने गर्छन् । किरात/किरातीहरु हजारौं वर्षअघि ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किरातीहरुले सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा आवाद गरेका थिए । त्यस्तै कस्मिरपूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ रहेको छ ।
किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिर्चा संस्कृत साहित्यहरु जस्तै अथर्व वेद, वाल्मिकि रामायण र महाभारत (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरुमा पनि किरात जाति किरात सभ्यताको उल्लेख गरेको वा भनौ उल्लेख रहेको पाइन्छ । बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्मलगायत विभिन्न धर्म ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरुमा पनि किरात सभ्यताका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ ।
त्यसैले १ नम्बर प्रदेशका किराती मूलका माननीयहरु मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरुका साथै खस-आर्य समूहका बाहुन, क्षेत्री, सन्यासी, दलितका साथै मधेसी (यो पंक्तिकारलाई थाहा भएसम्म १ नम्बर प्रदेशमा ठकुरी, शाह, राणा जात समूहका माननीय ज्युहरु हुनुहुन्न) जातजातिका माननीयज्यूहरुले पनि ‘किरात’लाई केवल एक जाति नाममात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाईमात्रै होइन प्रदेश नम्बर १ को सिंगो संसदले एक मतले पारित गर्नुहोस् । तपाईँहरुले यसो गर्नुभएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबैले तपाईँहरुलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ ।
फेरि पनि किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँलेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले काठमाडौ उपत्यकामा राज्य चलाएका थिए ।
भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठूलो भू–भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हुँदै र आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौं समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आफूलाई किरात भन्नेहरुको वसोवास रहेको छ । यसरी सानो भू–भागमा मात्रै आफूलाई प्रस्ट रुपमा किराती भनी चिनाउँने जातिहरु बाँकी रहेका छन् ।
तर, उनीहरु पनि नेपालको भगौलिक एकीकरण भएसँगै आफ्ना पिता–पूर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरुले जानाजानी वा अरुको दबाब अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ भनी लेखाउन/भनाउन वा लेख्न/भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरुको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरु देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरु बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छ/देखिन्छ ।
त्यसैले आशा गरौं, सन्निकट आउन लागेको प्रदेश नम्बर १ को हिउँदे अधिवेशनमा एक नम्बर प्रदेशका सबै राजनैतिक दलका माननीयहरुले किरात प्रदेश नामका लागि एक ढीक्का भएर लाग्नु हुनेछ, एकमतले पारित गर्नु हुनेछ । यस कार्य (किरात प्रदेश नाम पारित गर्ने काम) का लागि विभिन्न राजनैतिक दलका हाई कमाण्डजस्तै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राप्रपालगायतका नेताहरुले पनि प्रदेशको नाम किरात प्रदेश राख्न आफ्ना दलका माननीयहरुलाई एक मतले निर्देशन दिनुहोस् ।
किनभने ‘किरात प्रदेश’ नाम राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्म–ग्रन्थमा उल्लेख भएका प्रसंग आदिका साथै एक नम्बर प्रदेशको भू–भागमा इतिहासको लामो कालखण्डदेखि बसोवास गर्दै आएका किराती महाजातिभित्रका दुई दर्जनभन्दा बढी जातिहरुको अपनत्वलाई पनि स्वीकारेको अर्थमा लिन सकिन्छ, त्यसैले फगत जाति नाम मात्रै नसम्झनु होस्, राजनीतिक दलका ठूला नेताज्यूहरु !
टिप्पणीहरू