महाकाली नेपालतर्फ फर्काएर मनपरि

महाकाली नेपालतर्फ फर्काएर मनपरि

छिमेकी भारतले दार्चुला सदरमुकामसँग जोडिएको क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरिरहेको छ । नेपाली प्रशासनले पटक–पटक लिखित र मौखिक आग्रह गर्दा पनि बहाव फर्काइएको अवस्थामा कुनै परिवर्तन छैन । ०७० असारमा बाढी आएपछि नदी किनार क्षेत्रमा ठूलो क्षति भएको थियो ।

नेपालतर्फ १ सय ६ घरका साथै डेढ दर्जन सरकारी कार्यालयसमेत बगेका थिए । त्यसलगत्तै नेपाल सरकारले ३ अर्ब ५ करोडको लागतमा ५ किमि लामो तटबन्ध निर्माण थालेको थियो । नेपालतर्फको तटबन्ध निर्माणले सदरमुकाम क्षेत्रलाई केही सुरक्षित बनाए पनि भारतले महाकालीको बहाव नै परिवर्तन गर्दा सदरमुकामवासी चिन्तित बनेका छन् ।

नेपालतर्फ तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । भारततिर धारचुला बजार क्षेत्रको महाकाली किनारमा तटबन्ध निर्माण शुरु गरिएको हो । हुन त त्यस क्षेत्रमा २०७० सालअघि नै भारतले मेसिनरी पर्खाल निर्माण गरिसकेको थियो । त्यही संरचनाले २०७० सालको वाढीमा नेपालतर्फ बढी कटान र क्षति भएको स्थानीयको भनाई छ । नेपाल सरकारले प्राथमिकता दिएर महाकाली नदी किनारक्षेत्रमा तटबन्धको पक्की संरचना बनाएपछि भारतले पनि नेपालको जस्तै पक्की संरचना निर्माण प्रारम्भ गरेको छ ।

भारततर्फको महाकाली नदी किनारमा कुनै कटान र क्षति नभएको क्षेत्रमा ७ देखि ९ मीटरसम्म नदीको बहाव क्षेत्र मिचेर पक्की तटबन्ध निर्माण थालिएको छ । भारतको धारचुला बजार क्षेत्रको नदी किनारमा ९ सय ८५ मीटर लामो पक्की तटबन्धको संरचना निर्माण शुरु गरिएको छ ।

नेपालतर्फ बनाइएको जस्तै पक्की तटबन्ध निर्माण गरेर त्यसमाथि सर्भिस रोड बनाउने भारतीय योजना छ । तटबन्धको संरचना निर्माण र त्यसमाथि सर्भिस रोड निर्माण गर्नकै लागि भारततर्फ महाकाली किनारको ७ देखि ९ मीटर चौडा नदीको बहाव क्षेत्र मिचिरहेको नेपाली पक्षको आरोप छ ।

भारतको धारचुला र नेपाल दार्चुला बजार जोड्ने महाकालीको झोलुंगे पुल वरिपरीको क्षेत्रमा तटबन्ध निर्माण गरिन लागेको हो । झोलुंगे पुलभन्दा उत्तरतर्फको क्षेत्रमा अहिले पक्की तटबन्ध निर्माण दु्रतगतिमा भइरहेको छ । त्यसक्षेत्रमा २ सय ५० मीटर लामो तटबन्धको संरचना ५ मीटरभन्दा अग्लो निर्माण भइसकेको छ । पक्की तटबन्धको संरचना निर्माण गर्नेक्रममा भारतीय पक्षले महाकालीको बहाव नेपालतर्फ फर्काएको हो । तारजालीमा ढुंगा भरेर झण्डै १५ मीटर लामो स्पर भारतीय पक्षले बनाएको खलंगा बंगाबगरका स्थानीय चक्रबहादुर बमले बताउनुभयो ।

वर्षातको सिजनमा पनि भारतको सिञ्चाई विभागले ठेकेदारमार्फत यसक्षेत्रमा दैनिक तटबन्ध निर्माणको कार्य गराइरहेको छ । भारत सरकारको केन्द्रीय जल आयोग र उत्तराखण्ड सरकारको सिञ्चाइ विभागको व्यवस्थापन तथा प्राविधिक सुपरीवेक्षणमा तटबन्ध निर्माणको कार्य भइरहेको छ ।

दुई देश जोड्ने झोलुंगे पुलको दक्षिणतर्फको क्षेत्रमा पनि तटबन्ध निर्माणको जग निर्माण सम्पन्न गरिएको छ । त्यसक्षेत्रमा आधा दर्जन क्रसर मेसिन र ठुल्ठूला मेसिन राखिएकोमा वर्षातले नदीको जलस्तर बढ्दा केही अवरोध भएको छ । झोलुंगे पुलभन्दा दक्षिणतर्फको क्षेत्रमा हाल तटबन्ध निर्माण कार्य बन्द छ । त्यसक्षेत्रमा तटबन्ध संरचनाको जग हाल्ने कार्य भए पनि त्यसमाथिको संरचना बनाउन सकिएको छैन ।

धारचुला बजार क्षेत्रको सुरक्षाका लागि महाकाली नदी पश्चिमतर्फको किनारामा पक्की तटबन्ध निर्माण गरिन लागेको उत्तराखण्ड सिञ्चाई विभागका अधिशासी अभियन्ता डिके सिंहले बताउनुभयो । २ सय ३५ मीटर लामो पक्की तटबन्धको संरचना निर्माण अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । धारचुला बजारसंगै जोडिएको घट्टेखोला क्षेत्रमा पनि १ सय १० मीटर लामो पक्की तटबन्ध निर्माण भइरहेको छ ।

महाकालीको पानी र बहाव प्राकृतिक रूपमा बग्न दिन र नेपालतर्फ नफर्काउन भारतीय प्रशासनमार्फत आफूले पहल र पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘हामीले धेरैपटक लिखित र मौखिक रूपमा यसबारे कुराकानी गरेका छौं, मौखिक सहमति पनि भएको छ तर सहमतिअनुसार नदीको बहाव प्राकृतिक रूपमा छोडिएको छैन’ उहाँले भन्नुभयो ।

टिप्पणीहरू