माओवादीसामु रोल्पामा प्रहरी प्रशासन मरणासन्न

माओवादीसामु रोल्पामा प्रहरी प्रशासन मरणासन्न

प्रहरी संगठनभित्रकै मान्छे कुटिँदा पनि रोल्पाका डिएसपी विनोद घिमिरेले चार दिनदेखि कानमा तेल हालेर बसेको आरोप लागेको छ ।

सरुवापछिको तयारी बिदामा घर जान लागेका हवल्दार रामकुमार बाँठालाई मंगलबार दार्बाेटका स्थानीय खिम बाबुराजा डिसीको समूहले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते हवल्दार चार दिनदेखि न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय धाउँदा पनि डिएसपीले उल्टै डिसीको पक्षपोषण गर्दै आएको आरोप लागेको छ ।

पीडितले जाहेरी दिन खोजेपछि डिएसपीले उल्टै माओवादी कार्यकर्ताको संरक्षण गर्दै जबरजस्ती मिल्न दबाब दिएको बताइन्छ ।

किन निरीह छन् डिएसपी ?

हवल्दारलाई कुट्ने डीसी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनी गत निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए ।

उनले दार्बाेट प्रहरी चौकीलाई समेत प्रयोग गरी दादागिरी मच्चाउँदै आएको स्थानीयको आरोप छ । डिसीलाई संरक्षण गर्न माओवादी नेताहरुले पहल गरेपछि डिएसपी घिमिरे आफ्नै संगठनभित्रको सदस्यलाई न्याय दिन छाडेर माओवादी नेताहरुको रबर स्ट्याम्प बनेका हुन्।

माओवादी नेताहरुले प्रयोग गर्न सजिलो होस् भनेर नै यी डिएसपीलाई रोल्पा लगेको प्रहरी अधिकारीहरुको भनाई छ । ‘शुरुमा रोल्पा सरुवा हुँदा नै डिएसपीको नियत खराब थियो,’ एक जना उपल्लो दर्जाका प्रहरी अधिकारीले भने, ‘ऊ त मन्त्रीको झण्डावाला गाडीमा चढेर गएको हो ।’ जिल्लाको प्रहरी प्रमुख मन्त्रीको झण्डा हल्लाइएको गाडीमा हिँड्न नमिल्ने उनको भनाइ छ ।

डिएसपीको अनुसन्धान गर्न अर्काे प्रहरी अधिकारीको जिम्मा

जिल्ला प्रहरी प्रमुख घिमिरेले माओवादी नेताहरूको दबाबमा पीडित हवल्दारको जाहेरी नलिएपछि प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गर्न अर्काे प्रहरी अधिकारी रोल्पा खटाउने भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले रोल्पामा प्रहरी हवल्दार कुटिएको घटना अनुसन्धान गर्न छुट्टै प्रहरी अधिकारी खटाउने बताएका छन् । ‘त्यो घटनालाई मैले नियालिरहेको छु,’उपाध्यायले भने, ‘अब घटना अनुसन्धान गर्न बाहिरी जिल्लाका डिएसपी पठाउने तयारीमा छु ।’

प्रहरी हवल्दारले भन्दा पनि जिल्ला प्रहरी प्रमुखका गतिविधि अनुसन्धान गर्न छिट्टै एक जना डिएसपी रोल्पा खटाउन लागिएको डिआइजी उपाध्यायको भनाइ छ ।

‘डिएसपी घिमिरेले हवल्दारलाई फटाहा भन्दै आउनुभएको छ,’ उपाध्यायले भने, ‘अर्कोतर्फ प्रहरी हवल्दारले आफूलाई जबर्जस्ती डिएसपीले मिल्न दबाब दिएको कुरा पनि मैले जानकारी पाएको छु ।’ त्यसैले छिट्टै एक जना डिएसपी खटाएर सुक्ष्मरूपमा रोल्पाका डिएसपीको गतिविधिबारे अनुसन्धान हुने उनले बताए ।

आज फेरि छलफल हुने

डिएसपी घिमिरे जसरी पनि घटनालाई मिलाउन खोजिरहेका देखिन्छन् । उनले दुवै पक्षलाई आज बिहान ११ बजे छलफलमा बोलाएका छन् । प्रहरी हवल्दार बाँठाले आज पनि छलफलका लागि आफूहरूलाई बोलाइएको जानकारी दिएका छन् ।

‘शुक्रवार पनि डिएसपी सा”बले मिल्नुपर्छ भन्ने कुरा गर्नुभयो र मेरो जाहेरी दर्ता गर्नै मान्नु भएन,’ बाँठाले भने, ‘आज फेरि छलफलमा बोलाउनुभएको छ ।’

एउटा प्रहरीमाथि भएको आक्रमणबारे न्याय माग्न जाँदा प्रहरी अधिकारीबाटै आफूले सहयोग नपाएको बाँठाको गुनासो छ ।

कुटपिटमा संलग्नहरूले पनि अभद्र व्यवहारसम्बन्धी जाहेरी दिन आएकोले दुवै पक्षबीच छलफल भइरहेको डिएसपी घिमिरेको दाबी छ ।

टिप्पणीहरू