फेरि जाग्यो कोरोना,तर छैन कुनै तयारी

फेरि जाग्यो कोरोना,तर छैन कुनै तयारी

केही सातायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ । हिजो मात्र मुलुकभर चार सय ३५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही महिनाअघि मत्थर भएको संक्रमणदर एक्कासी बढ्न थालेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोना संक्रमणदर उच्च गतिमा बढेसङ्गै नेपालमा पनि त्रास बढेको हो ।

उता कोरोना बढेसँगै खुल्ला सीमानाबाट स्वदेश फर्किनेको लर्को लागेको छ । नाकामा प्रभावकारी परीक्षणको व्यवस्था मिलाउन नसक्दा कोरोनाले भयावह रुप लिने निश्चित छ । खुल्ला सीमानाले गर्दा यता जोखिम बढेको सरकारी अधिकारीहरु बताउँछन् । कोरोना निर्मूल हुनुको सट्टा नयाँ प्रजाति देखिन थालेको छ ।

कोरोना महामारीमा पहिले ओमिक्रोन र अहिले त्यसका प्रजातिहरुले विश्वलाई नै सताएको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ.वान’ भेरियन्ट पुष्टि भएको छ । नेपालमा पहिलोपटक उक्त भेरियन्ट फेला परेको हो ।

अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको जानकारी दिइएको छ । कोरोना संक्रमण पुष्टि भएको २२ वटा नमूना परीक्षण गर्दा दुई जनामा ‘बीएफ.वान’ पुष्टि भएको अस्पतालले जनाएको छ ।
यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले गत असारमा ‘बीएफ.वान’ युरोपमा समेत फेला पारेको छ ।

‘बीएफ.वान’ को जोखिमबारे अध्ययन भइनसकेकाले आफूलाई यसबारे ज्ञान नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए । नेपालमा यसअघि ओमिक्रोनको उपप्रजाति ‘बि.ए फाइभ’ फेला परेको थियो । ‘बि.ए फाइभ’ सबैभन्दा छिटो सर्ने उपप्रजाति रहेको निर्देशक दासले जानकारी दिए ।

उनकाअनुसार भारतको सीमानाबाट धमाधम संक्रमितहरु भित्रिरहेका छन् । बीचमा कोरोना हराएको भन्दै लापरवाही गरेकाले पनि संक्रमणदर बढेको उनको ठहर छ ।

कोरोनाको नयाँ प्रजाति देखिन थालेकाले थप कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशक दासले जोड दिएका छन् । नाकामा हेल्थ डेस्कको प्रबन्ध मिलाउन,जीन सिक्वेन्सिङ गर्न र क्वारेन्टिनको व्यवस्था मिलाउन पनि निर्देशन दिइसकेको उनको भनाइ छ ।

यता, स्वास्थ्य मन्त्रालयले कोरोना बढेपछि सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, स्वास्थ्य मापदण्डको पालना गर्न र खोप लगाउन आग्रह गरेको हो ।

टिप्पणीहरू