लामो यात्रामा हिंड्नु त यसरी पो हिंड्नु (४)
– नारायणबाबु थापा (पूर्वएआइजी, सशस्त्र प्रहरी)
रमणीय सराम, बाइ हुँदै अक्सु आइयो । दुई हजारकै फौज भेटिए । पठानी रहमत उल खानले मलाई कासगारसम्म साथ दिने भयो । अति सुन्दर उक्सतुर्फान आयो । तँ भएको भए त यतैको च्यांग्रा र तीनपाने खाएर हप्ता दिनसम्मै बस्ने थिइस् होलाजस्तो लाग्यो । अझ तेरो सिंहबहादुर आइजी साहबलाई पनि ल्याउने हो भने त यतै मरुभूमिका पठारहरूमा कति रमाएर साइकल कुदाउँदा हुन् !
कुनैबेला कासगारका शासक याकुव बेगका सचिव भेटिए, गरिब अवस्थामा । सत्ता र शक्ति दीर्घकालीन हुँदैन, त्यसैले यसको आडमा फूर्ति गर्नेहरू पटमूर्ख हुन् । अब हामी किर्गिजको बस्तीमा पुग्यौं । कतै नव्यहोरेको झमेला आयो । अहिलेसम्म कुनै युरोपियनलाई यताबाट जान नदिएको भनेर निहुँ पो खोज्न थाले । रहमत उल खानले हाम्रो साहेव सिधै पेकिङबाट आएको, सम्राटको पासपोर्ट र अनुमति साथमा भएको र यदि उहाँलाई केही भएमा चिनियाँ सम्राटको फौज आएर तिमीहरूलाई नराम्रोसँग ठीक पार्छ भनेपछि ती हच्किए । आखिर ध्वाँस भने जहाँ पनि दिन पर्ने ।
अर्तिस हुँदै ४० दिनको लगातार यात्रापश्चात् बल्ल दोश्रो मेरो गन्तब्य, चिनियाँहरूले काशी नै भनेर बुझ्ने कासगार आयो । हामी सन् १९४८ मा हिँडेपछि लगत्तै १९५० पछिबाट सारा काश्मिर, लेह लदाख, गिलगिट बाल्टिस्तान, हुन्जा, चित्राल सवैको शदियौंदेखिको ओहोरदोहोर गर्ने, रोटी बेटीकै सम्बन्ध भएको तर सदाको बन्दको बन्दै रहेको कासगार, हो म त्यहीं आइपुगें । तिमीहरूलाई रक्सौल, बनवासा र गौरीफण्टा पुग्दा गाउँ नै पुगेजस्तो जुन खुशी लाग्छ नि मलाई पनि त्यही लाग्यो । भला तिमीहरूको गाउँ अझै कैयौं दिन टाढा रामारोशन, तुर्माखाद या जलजले, मैवल किन नहोस् !
आफ्नै भारत नजिकै आइयो जस्तो लाग्यो । रसियन कन्सुलको अफिसमा गएँ । धेरै भारतीय ब्यापारी मलाई हेर्न आए । अफगानीहरूसँग धेरै कुरा भयो । मुलाहरू भेट्न पाएको छैन, खाली लडाइँको कुरा गर्ने । जति गर्दा पनि बानी नसुध्रेका उरन्ठेउलाहरू । उनीहरूले बेलायती सँग युद्ध लडेको कुरा गरे, केही त लडाइँमा सरिक भएका पनि रहेछन् तिमीहरूकै लालसेना जस्तै, कोही होलेरीमा, कोही कुसुम या चैनपुरमा । रोपर्ट साहबका कुरा निकाले प्रसिद्ध जनरल रबर्टको नाम सुनेका रहेछन् । रसियन कन्सुलमा पेट्रभस्की र उनका सचिव लुत्स्क भेटिए । उनीहरू सात वर्षदेखि त्यहाँ बसिरहेका रहेछन् । सायद भारतीय साम्राज्यमा हाम्रै खवर बुझ्न या चिनियाँ र तिब्बतीको चासो लिन होला । म पनि त तिनकै खवर बुझ्न मन्चुरियादेखि यतिबिघ्न हण्डर बेहोर्दै थिएँ ।
हामी २९ अगष्टमा यारकान पुगियो । काश्मिरी अक्साकालमा धेरै भारतीय ब्यापारी भेटिए । काश्मिरी अक्साकालले त्यहाँको राम्रो चिनियाँ पाहुनाघरमा बस्ने व्यवस्था मिलाए । यसरी गोवी मरुभूमि नजिकको शहर छि ह्वा चेंगबाट १२२ दिनको हिँडाई र पानीजहाज छाडेको करीव १५ महिनापछि यारकानमा उत्रिन पाउँदा खुशी लाग्यो । तिमीहरूको बेत्रावती सन्धिदेखि चिनियाँ बादशाहलाई पाँच बर्षमा सौगात पठाउन बाध्य हुँदा जंगबहादुरको पाला सन् १८५२ मा सरदार गम्भिर सिंहको टोली चिनियाँ र तिब्बती दुर्ब्यवहारको कारण पाउनुसम्म हैरानी पाएर सारा दलका सदस्य उतै बिलाए मात्रै भीमसेन राना चौबीस महिनामा काठमाडौँं फर्किएको भन्दा कम समयमै उत्रेको थिएँ म यारकान ।
चिनियाँ तुर्किस्तानको भ्रमण गरें । यो भूमि कहिल्यै आदिवासीले शासन गर्न पाएनछन्। सबै अरुहरूले मात्र गरेका जस्तै याकुव बेग पनि पराई नै रहेछन् । यारकानी अर्थात् तुर्कीहरू लडाकु जाति रहेनछन्् । उनीहरूको रगत नै खेतीपाती र ब्यापार रहेछ । कर्णेल बेल त यारकानबाट पनि हुत्तिसकेका रहेछन् । म चिनियाँ तुर्किस्तान आएको जानकारी भने पाएर चिठी पठाएका रहेछन् बाटोबाटै । मुस्ताग पासको बाटो पत्ता लगाएर बाल्टिसान हुँदै आउन सल्लाह दिएका रहेछन् । उनको कुरा ठीक लाग्यो । मुस्ताग पास पार गरेर जान सहज थिएन त्यसैले त्यसको प्रबन्ध गर्नतर्फ लागें ।
यारकानमै करिब दुई हजार बाल्टिस रहेछन् । चिनियाँ गभर्नरलाई भेटें । उनी अझै पेकिङ गएका रहेनछन् । जाउन् पनि कसरी । मेरै जति समय लाग्ने हो, करीव तीन चार महिना नहिंडी पुगिंदैन । ती अम्बान अहिलेसम्मका राम्रामध्येका रहेछन् यारकानमा ।
पहिला गाइडको रूपमा बालीलाई लिएँ । उनी बाल्टिसानकै रहेछन् । भारी बोक्नको लागि तीन जना मिलाइयो । तेह्र वटा घोंडाहरू पनि खोजियो । लद्दाखीहरू मध्येबाट मोहम्मद इशा भेटिए । उनी पहिला पनि क्यारे, र दल्गलेससँग तिब्बततिर यात्रा गरेका अुनभवी रहेछन् र कर्णेल बेलले मलाई सहयोग गर्न पठाएका रहेछन्् । उनी नै यो क्याराभानको इञ्चार्ज तोकिए । सबैको लागि हिमालमा लगाउने कपडाहरूको व्यवस्था गरियो । सेप्टेम्बर भएकोले चिसो बढ्न थालिसकेको थियो ।
आठ सेप्टेम्बरमा यारकान्द छाड्यौं । सानो सर कार्गालिक आयो । नेपाल भारतमा जस्तै हाट बजार लागेर बाटो पुरै भींड रहेछ । अर्को दिन कुगियार पुगियो र सवै सामानहरू एकमुष्ट संकलन गरेर तयारी गरियो । हामी अब हिमालतर्फ अघि बढ्न थाल्यौं । यो एरियामा हुन्जा डाँकुहरूले दुःख दिने रहेछन् तसर्थ सतर्क भइयो । काराकोरम मार्गको यारकन्द र लेह आवत जावत गर्ने ब्यापारीहरूको क्याराभानलाई लुट्ने र अपहरण गर्ने धन्दा रहेछ हुन्जा कुन्जीटहरूको । मुस्ताग पासको नजिकै गइयो । यो पनि पुरानो र नयाँ रहेछ । १८६२ मै माउण्ट के २ पत्ता लगाउने कर्णेल गडवीन अष्टिन पनि त्यता पुगिसकेका रहेछन् । मैले पुरानो भन्दा नयाँ पार किन नगर्ने भनेर रेक्की पठाएँ तर त्यो सहज नभएको भनेर आए । घोडा लैजान नसकिने भयो ।
तसर्थ त्यसलाई करीव १८० माईलदूरीमा रहेको साईदुला पठाउने भइयो । अब हामी माथि मुस्ताग पासतर्फ गयौं । मसँग अल्पाइन चढाइको अनुभव थिएन र हिमाल चढ्न आवश्यक त्यस्ता केही उपकरण पनि थिएनन् । म त सहजै पास होला तेरो देशको लार्के या थोराङ पास भनेर उक्लेको, मुस्ताग पास पुरै हिमाली पास नै पो रहेछ । बडो कठिनसँग पार गरियो । झर्न निकै गाह्रो भयो । डोरीको मद्धतले ओर्लियौं । वाली गाईडले गर्नु सहयोग गरे । हामी अर्को दिन अस्कोल गाउँ पुग्यौं । वाली स्वयं तीस वर्ष पहिले त्यही गाउँका रहेछन् । हामीले घोंडाहरू कुरेर बसेका सदस्यलाई त्यहींका गाउँलेहरूलाई मनाएर बन्दोबस्तीका सामान पठाउन लगायौं । मेरो पेकिङदेखि आएको लिउ सानहरू घोंडाहरूसहित काराकोरम पास भएर लेह निस्कने भए । लिउले पनि जिन्दगीमा पाउनु दुःख पाए ।
हामी अस्कोलको डरलाग्दो कच्ची पुल पार गरेर सिगार भ्याली पुग्यौं । ब्राल्दो नदी मिल्ने रहेछ यहाँ इन्दुससँग । बाल्टिसान पुग्यौं । बाल्टीसानको मुख्य स्थान सकार्दु आयौं । मैले पहिलो युरोपियन भेटें फ्रान्सेली मिष्टर दाउभग्ने । कैयौं महिनापछि अंग्रेजी बोलियो एउटा युरोपियनसँग । सँगै खायौं । फेरि मैले अर्को युरोपियन भेटें रसियन । उनी निकोलास नोटोभिच रहेछन् । उनको भारतमा ख्याती रहेछ । उनलाई मैले यात्रा गर्दै पेकिङदेखि आएको बताएँ । उनले लाईफ अफ क्रिष्ट नामक प्रसिद्ध किताब लेखेका छन् । जुन किताबबारे पछि धेरैले विवाद पनि गरे । कतै पाउँछ होला, मन भए पढ्नु खोजेर गोर्खे !
अर्को दिन श्रीनगर भन्दा माथिको जोजिला पास पार गर्यौ । सुन्दर सिन्ध भ्याली आइयो । करीव आठ माइल हिंडेर २ नोभेम्बरमा श्रीनगर आएँ । त पुरै फोहोरी भएको थिएँ । त्यहाँ क्याप्टेन र्याम्से भेटिए ब्रिटिश राजनैतिक एजेण्ट । तेरो देशमा जाने र्याम्से र तिनी एकै हुन् या फरक त्यो बुझ्नु है ! मैले पसलमा गएर सुहाउँदो कपडा किनें, कपाल कटाएँ र दाढी बनाएँ । श्रीनगरमै मलाई जनरल च्यामम्यान क्वार्टरमाष्टर जनरल र सर फ्रेडरिक रबोट्र्सको बधाइ टेलिग्राम आयो । यात्रासँगै अपरिचित भूगोलको खोज पनि भएको थियो । महत्वपूर्ण बिषय रुसीहरूको चहलपहल प्रशान्त महासागरको डिलमा रहेको मञ्चुरियामा के छ र मध्य एशियामा के गरिरहेछन् भन्ने नै थियो, त्यो पनि बुझ्न पाइयो । मूलतः त्यो बेला चिनियाँहरूको बलियो नियन्त्रणमा नरहेको चिनियाँ तुर्किस्तानमा भारतको सीमा समेत जोडिएको कारण रुसीहरूको गतिविधिले महत्व राख्ने नै भयो । भावी कार्यको लागि भूगोल, बाटोघाटो, जनजीवनको अवस्था बुझ्नु सैनिकको लागि रणनीतिक चालवाजी पनि हुने भयो । अझ रणनैतिक रूपमा क्वार्टर माष्टर र इन्टेलिजेन्स हेर्ने जनरल म्याकग्रेगरले जुन गोप्य किताब डिफेन्स अफ इण्डिया लेखेका थिए उनैको संगत र आदेशबाट म पनि रुस र ब्रिटिश साम्राज्यबीच चलिरहेको ग्रेट गेममा जोडिन पुगेको थिएँ र मेरो यात्रा कुनै न कुनै रूपमा त्यसको एक अंग पनि थियो ।
एकदिन श्रीनगर बसेर रावलपिण्डीतर्फ हिडें । पेकिङ छाडेको ठीक सात महिना, कलकत्ता छाडेको अठार महिना र अझ पल्टन नै छाडेको करीव बीस महिनामा म लप्टन योङहस्ब्याण्ड फेरि हाजिर भएँ । अनकण्टार, अपरिचित भूगोलमा एक्लै यात्रा गरेको कारण मेरो केही प्रसिद्धि बढिसकेको थियो । फौजी न परें फेरि दुईदिन पल्टन बसेर सिम्ला गएँ । कर्णेल बेल त एक महिनाअघि नै आइसकेछन् । सोही कारण चीनको पेकिङ भएर पैदलै भारत निस्कने पहिलो युरोपियनको श्रेय उनैलाई गयो । चीनको पेकिङदेखि मलाई साथ दिएका लिउ सान करीव छ हप्तापछि मात्र लेह हुँदै सिम्ला आइपुगे । मेरो चाहना र महत्वकांक्षामा आफूले हैरानी पाएर पनि साथ दिएका ल्यु सान बिमारी अवस्थामा भएकोले उपचारपश्चात् कलकत्ताको बाटो पानी जहाजमा पेकिङ पठाउने व्यवस्था मिलाएँ । तिनै दुःखी लिउ सान फेरि अमेरिकन पदयात्री र कहिलको असफल तिब्बत यात्रामा पनि हिँडेछन् ।
टिप्पणीहरू