सुपारीको खेलोमेलो निर्वाध जारी, वास्तविक किसानलाई सँधै भारी

सुपारीको खेलोमेलो निर्वाध जारी, वास्तविक किसानलाई सँधै भारी

तेस्रो मुलुकबाट ल्याइएको गुणस्तरहीन सुपारीलाई नेपाली उत्पादनको बिल्ला भिराए भारत निर्यातबाट अकुत कमाउने व्यापारीको खेलोमेलो थप सक्रिय बनेको छ ।

गत बिहीबार मोरङको विराटनगर–१८ स्थित आइसिपी रोडबाट अवैध सुपारी बोकेका आठ वटा भारतीय नम्बरप्लेटका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएपछि उक्त रहस्य बाहिरिएको हो । ट्रक नियन्त्रणपछि सुपारीसमेत थप अनुसन्धानका लागि इटहरीस्थित राजस्व कार्यालयमा बुझाइएको छ ।

प्रहरी र प्रशासनको प्रारम्भिक अनुसन्धाबाट सुपारीको खेलोफड्कोबाट अकुत कमाउने व्यापारीरु दुवैतिर सक्रिय पाइएको हो । घिमिरे प्रोपोराइटर रहेको झापाको मनोकामना टे«डर्सको नामबाट भारत लैजान खोजिएको दुई लाख १९ हजार पाँच सय ९६ किलो सुपारी झापामै उत्पादन भएको नक्कली व्यहोराको कागजातमा सुपारी खेती संघ र उद्योग वाणिज्य संघ झापाले प्रमाणित गरिदिएका छन् । उक्त सुपारीलाई असार २६ गते विराटनगर भन्सारले प्रति ट्रक एक सय १३ रुपैयाँ लिएर जाँचपास गरिदिएको थियो ।

सोही दिन आइसिपी मार्गबाट भारतको जोगबनी भन्सारमा छिरेका सुपारी बोकेका ती ट्रक एक हप्तापछि साउन ४ गते मात्र जोगबनी कस्टमबाट २७ लाख रुपैयाँको भन्सार शुल्क तिरेर भन्सार जाँचपास भएका थिए । भारत बिहारको बथनाहमा रहेको मिरगन्ज पुल जीर्ण भएकाले हेभी लोडेड सुपारी बोकेका ती ट्रक सुनसरीको भन्टाबारी नाकाबाट रिरुट गराएर भारत लैजान खोजिएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय, रानीले सुपारी बोकेका आठ वटा ट्रकलाई नियन्त्रणमा लिएको हो ।

सुपारीधनीहरुले भन्सार एजेन्ट किशोर शाही मार्फत् सबै प्रमाणित कागजात भएको र भन्सार प्रक्रिया पनि पूरा भइसकेको सुपारी प्रहरीले बदनियतपूर्वक दुःख दिन पक्राउ गरेको आरोप लगाएका छन् । एजेन्ट शाहीका अनुसार यसअघि पनि ७० भन्दा बढी ट्रक सुपारी विराटनगर भन्सार हुँदै भारत निकासी भइसकेको थियो ।

तर प्रहरीले भने नेपालमा उत्पादन भएको भन्नेबारे परीक्षणपछि मात्र सुपारी छाड्ने अडान लिएपछि सुपारीधनीहरु पछि हटेका हुन् । करिब १० करोड मूल्य बराबरको उक्त सुपारी भारतको नागपुर लैजान खोजिएको हो । मोरङ प्रहरीले थप अनुसन्धानका लागि उक्त सुपारी र ट्रकलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । सुपारीको पर्दा पछाडि ठूला व्यापारी हुनसक्ने भनिए पनि अहिलेसम्म अघिल्तिर कोही देखिएका छैनन् ।

गत आर्थिक वर्षमा विराटनगर भन्सारबाट कुल ९० करोड ६७ लाख बरावरको २२ लाख ४८ हजार ८०५ केजी सुपारी भारततर्फ निर्यात भएको छ । यसैगरी तेस्रो मुलुकबाट एक अर्ब २७ करोड ७७ लाख ७७ हजार मूल्य बराबरको ५७ लाख ४८ हजार २ सय ५५ केजी सुपारी नेपाल भित्रिएको थियो ।

नेपालमा वर्षेनी १० हजार मेट्रिक टन बराबरको सुपारी उत्पादन हुने गरेको बताइन्छ । त्यो पनि अधिकांश सुपारी प्रदेश १ को झापामा उत्पादन हुन्छ । यसैले तेस्रो मुलुकबाट आयात भएको सुपारी झापामा उत्पादन भएको बनाएर भारत लैजाने गरिएको हो । भारतले तेस्रो मुलुकबाट सुपारी आयातमा प्रतिबन्ध लगाएको छ । नेपालमा उत्पादन भएको नौ हजार मेट्रिक टन सुपारी मात्र आयात गर्न अनुमति दिइएको छ ।

त्यही मापदण्डभित्र घुसेर चतुर व्यापारीहरुले इण्डोनेसिया, थाइल्याण्ड, मलेसियालगायत देशबाट सुपारी आयात गरेर भारततर्फ लैजाने गरेका हुन । वर्षौंदेखि सुपारीमा नाफा कमाउने खेलोमेलो जारी रहे पनि सरकारले यसलाई नियन्त्रण गर्न चाहेको देखिँदैन । तर सुपारीको खेलोमेलोका कारण वैध रुपमा खेती गरेर सुपारी उत्पादन गर्ने झापाका वास्तविक कृषक वर्षौंदेखि मारमा पर्दै आएका छन् ।

टिप्पणीहरू