मानवअधिकारवादी नेतृ सुकीको देशमा चार जनालाई झुण्डाइयो

मानवअधिकारवादी नेतृ सुकीको देशमा चार जनालाई झुण्डाइयो

म्यान्मारको सैन्य ‘जुन्ता’ सरकारले देशद्रोहको मुद्दामा चार प्रजातन्त्रवादी कार्यकर्तालाई मृत्युदण्डको सजाय दिएको छ । सैन्य अदालतबाट देशद्रोहको अभियोगमा दोषी ठहरिएका उनीहरूलाई आज मृत्युदण्ड दिइएको ‘जुन्ता’ परिषद्को नियन्त्रणमा रहेको टेलिभिजनले जनाएको छ ।

सन् १९९० पछि देशमा अदालतले मृत्युदण्डलाई सदर गरेको यो पहिलो घटना भएको अधिकारीहरूले जनाएका छन् ।

म्यान्मारको सैन्य सरकारले पूर्वसांसद ४१ वर्षीय फ्यो जेयात र प्रजातन्त्रवादी अधिकारकर्मी ५३ वर्षीय को जिम्मीसहित चार जनालाई मृत्युदण्डको सजाय दिएको हो । मृत्युदण्ड पाएका अन्य दुई पुरुष ह्ला म्यो आङ र आङ थुरा जा हुन् । उनीहरू विद्यार्थी नेता हुन् ।

जुन्ताले गतवर्ष सत्ता कब्जा गरेपछि भएका झडप तथा दमनका क्रममा दर्जनौं ‘सैनिक विद्रोह’ विरोधी कार्यकर्ताहरूलाई हिरासतमा लिएर हत्या गरिएको बताइन्छ । म्यान्मारले सन् १९९० पछि अदालती प्रक्रियाबाट मृत्युदण्डलाई सदर गरेको थिएन ।

संयुक्त राष्ट्र संघका विज्ञहरूले नियोजित मृत्युदण्डलाई म्यान्मालीहरूमा ‘डर जगाउने नीच प्रयास’ भनेका छन् । म्यान्मारका अधिकारीहरूले ‘कू’ विरुद्धको विरोध प्रदर्शनलाई सैनिक प्रशासनले यस्तो रबैया चालेको बताउँछन् । उनीहरूले मृत्युदण्डको सजाय अंगालेर जुन्ता सरकारले विनाशकारी यात्रा तय गरेको निचोड निकालेका हुन् ।

सैन्य नजरबन्दमा रहेकी आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसीका सदस्य फियो जेया थाउलाई आतंकवाद विरोधी कानूनअन्तर्गत अपराधका लागि जनवरीमा मृत्युदण्डको सजाय सुनाइएको थियो । गत वर्षको विद्रोहपछि सैन्य शासनले जुन्ताविरुद्ध सशस्त्र प्रतिरोधमा भूमिका खेलेका एक सय १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

‘जिम्मी’ भनेर चिनिने प्रजातन्त्रवादी प्रसिद्ध अभियन्ता क्यो मिन युले पनि अर्धसैन्य न्यायिक निकायबाट सोही कसुरमा सजाय तोकिएको थियो । स्रोतका अनुसार उनीहरूलाई आज बिहान फाँसी दिइएको छ ।

त्यहाँको सैन्य सरकार र अदालतले मानवअधिकारको गम्भीर उल्लंघन गरेको राष्ट्रिय एकता सरकारका मानवअधिकार मन्त्री आङ म्यो मिनले दाबी गरेका छन् ।

टिप्पणीहरू