वनकै अध्यक्षमाथि मनलाग्दी वन काटेको बात
कैलालीको मनकापुरस्थित निराजन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा गौरीगंगा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य चेतराम चौधरीले सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोप लागेको छ । पद र शक्तिको आडमा उनले सार्वजनिक सम्पत्ति दुरुपयोग गरेका हुन् ।
गत जेठ २८ गतेको भीषण हावाहुरीले आफ्नो घरमा क्षति पुर्याएको बताउँदैं उनले सामुदायिक वनबाट मनलाग्दी काठ काटेका हुन् । सामुदायिक वन उपभोक्ता समूहमा निवेदनसमेत नदिइकन काठ काटेपछि त्यसको सर्वत्र विरोध भएको छ । नियमविपरीत मनलाग्दी काठ काटेको भन्दै विरोध भएपछि अनुगमन तथा मूल्याङकन समितिकी संयोजक सुजिता ओडको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
सब डिभिजन वन कार्यालय मसुरियाका प्रमुख सन्तोष ढुंगानाले अनुगमन गरी विधानमा भएको प्रावधानअनुसार काठ दिएको हो कि होइन ? के कति क्षति भएको छ ? लगायतका विषयमा छानबिन प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएका थिए ।
डिभिजन वन कार्यालय, धनगढीले दिएको इजाजतविपरीत उनले काठ काटेको पाइएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । कार्यालयले ढलापडा अवस्थामा रहेको रुख मात्र काट्न स्वीकृति दिएको थियो । जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा कार्यालयले मौज्दातमा रहेको वा ढलापडा काठ दिनु भनेर पत्र पठाएको थियो ।
सामुदायिक वनको विधान कार्ययोजनाको प्रावधानबमोजिम वल्ली १४ फिटको ३ थान, कडी ९ फिटको १० थान, खामा ८ हाते १७ थान र सेफ्टी १० फिटको ३ थान दिने सहमति भएपनि उनले ३२ थान गोलिया काटेको पाइएको छ ।
प्रावधानमा बढीमा ५० क्युफिट काठ काट्ने अनुमति भएकोमा चौधरीले ७३८.८९ क्युफिट काठ काटी ल्याएको समितिले जनाएको छ । चौधरीले समूहका सदस्यलाई गुमराहमा राखी पदको दुरुपयोग गरेको समितिको ठहर छ । साथै,उनको घरको छाना मात्र उडेको र भित्तामा सामान्य क्षति भएकाले खामाको आवश्यकता नपर्ने अवस्थामा पनि उनले अनुचित लाभ लिन खोजेको समितिको निष्कर्ष छ ।
चौधरीलाई सहुलियतमा काठ उपलब्ध गराउन भनी सामुदायिक वनलाई पत्राचार भएपनि सबडिभिजन वन कार्यालय,बढैपुरलाई बोधार्थसमेत नदिनु गम्भीर गल्ती भएको बताइएको छ । समितिले बरामद भएको काठ सुरक्षित राख्ने जनाएको छ । गत जेठमा भीषण हावाहुरीले धेरै घरपरिवार प्रभावित बनेका थिए । तर, चौधरीले मात्र काठको माग गरेका हुन् ।
सामान्य क्षति भएको अवस्थामा त्यत्रो काठ काटेर व्यक्तिगत फाइदा लिन खोजेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् । पदीय दायित्वको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई कारबाहीको माग गरिएको छ । पुर्खाहरुले जोगाएर राखेको सम्पत्ति संरक्षण गर्नुको साटो चौधरीले गरेको क्रियाकलाप लज्जास्पद भएको स्थानीयले जनाएका छन् । चौधरी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।



टिप्पणीहरू