‘हटाइएका कर्मचारीको पुनर्बहाली गरियोस्’

‘हटाइएका कर्मचारीको पुनर्बहाली गरियोस्’

स्थानीय तह कर्मचारी संयुक्त ट्रेड युनियनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई अन्धाधुन्ध एकमुष्ट रुपमा सेवाबाट हटाउने कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आज संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै युनियनले राजनीतिक आस्थाका आधारमा स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु हटाउने काम बन्द गर्न माग गरेको हो ।

‘कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु हटाउने काम तत्काल बन्द गरी कर्मचारीमाथि धरपकड बन्द गर्न, घाइतेको उपचारको व्यवस्था गर्न र हटाइएका कर्मचारीको पुनर्बहालीको लागि जोडदार माग गर्दछौं’, पत्रमा भनिएको छ ।

नियमसंगत रुपमा नियुक्त कर्मचारीलाई हटाइनु गैरकानूनीमात्र नभएर अमानवीयसमेत भएको युनियनको ठहर छ । स्थानीय तहमा कर्मचारी समायोजन नहुँदा कार्यसम्पादनमा परेको जटिलतालाई फुकाउन निश्चित प्रक्रियाबाट नियुक्त गरेका कर्मचारीलाई हटाउनु अव्यवहारिक भएको जनाइएको छ ।

यसरी धमाधम कर्मचारी हटाउँदा स्थानीय तहको सेवा प्रभावित भएकाले कार्यसम्पादन मूल्याङ्कन कर्मचारी हटाउने कार्य रोकेर निश्चित विधिबाट नियुक्ति र बर्खास्ती गर्न आग्रह गरिएको हो ।

स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सुजिन्द्र महर्जन र स्थानीय तह कर्मचारी युनियन नरबहादुर साउदले संयुक्त रुपमा पत्र बुझाएका हुन् ।

टिप्पणीहरू