काठमण्डौतिर विप्लवले धमाधम पुर्जी काट्न थाले

काठमण्डौतिर विप्लवले धमाधम पुर्जी काट्न थाले

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीमा चन्दा अभियान छेडेको छ । पहिलो चरणमा व्यापारी तथा व्यवसायीहरुलाई छानीछानी पत्र थमाइएको छ ।

असोजमा हुने नवौं महाधिवेशनको नाममा चन्दा उठाउन थालिएको प्राप्त पत्रमा उल्लेख छ । जनआस्थालाई प्राप्त विवरणअनुसार ठमेलका एक जना व्यवसायीलाई असार ७ गतेको मिति लेखिएको पत्र बुझाइएको छ ।

चन्दा मागिएको पत्रमा चलानी नम्बर र पत्र संख्यासमेत उल्लेख छ । पत्रमा महासचिव विप्लवले रातो कलमले दस्तखत गरेका छन् ।

असोज १ गते काठमाडौंमा हुन लागेको महाधिवेशनमा हजारौंको उपस्थिति हुने उल्लेख गर्दै उक्त महान राजनीतिक एवं सांस्कृतिक पर्वलाई सफल बनाउन चन्दाको निम्ति आग्रह गरिएको बताइएको छ । चन्दाको निम्ति आग्रह गर्नुअघि विप्लवले पत्रमा अमेरिकी साम्राज्यवाद,इण्डो प्यासिफिक रणनीति,एमसीसीको पनि व्याख्या गरेका छन् । उनले अमेरिकी हस्तक्षेप र अतिक्रमणको उद्देश्य नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई निस्तेज पार्ने रहेको दाबी गरेका छन् ।

उनले मुलुकमा महंगी बढेको, निर्यातभन्दा आयात धेरै भएको, व्यापारघाटा बढेको सन्दर्भ उल्लेख गरेका छन् । मुलुकको व्यापार व्यवसाय गम्भीर सकटमा पर्दै गएको दाबी गरेका उनले तिनै व्यवसायीहरुलाई चन्दाको निम्ति पत्र पठाएका हुन् ।

मुलुकको वर्तमान कहालिलाग्दो अवस्थाको निम्ति उनले गणतन्त्र स्थापनापछि देखिएको तथाकथित शान्ति,संविधान र लोकतान्त्रिक गणतन्त्रलाई दोष लगाएका छन् । उनको दाबी छ, ‘नक्कली आवरणमा मुलुकका पुराना तथा नयाँ दलालहरू र वैदेशिक साम्राज्यवादीहरूले जबरजस्ती थोपरेको प्रतिकान्तिको परिणाम हो ।’

यी सबै भूमिका बाँधेपछि उनले, ‘जनताप्रतिको महान जिम्मेवारी वहन गर्न यहाँको आर्थिक,भौतिक र नैतिक सहयोगको विशेष अपेक्षा राखेकोले पार्टीलाई पूरा गरी सहयोग गर्नुहुनेछ । पार्टीलाई तपाईंले साथ दिनुहोस्, पार्टीले तपाइको मुक्ति र समृद्धिको सुनिश्चितता गर्नेछ,’ भन्दै चन्दा मागेका हुन् ।

टिप्पणीहरू