कृष्णबहादुरलाई बलात्कारको आरोप लगाएकी रोशनीले सिद्धबाबालाई पनि ‘बलात्कारी’ भनिन्
बलात्कार आरोपी सिद्धबाबा कृष्ण गिरीलाई ‘बलात्कारी’ भनेपछि रोशनी शाहीलाई पक्राउ गरिएको छ । पशुपतिनाथ मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा पुगेकी उनले जगतगुरु श्रीरामनन्दाचार्यलाई ‘बलात्कारी’ भनेपछि विवाद भएको हो ।
तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाहीको महायज्ञभित्रै चर्को विरोध भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
गौशालाका प्रहरी नायव उपरीक्षक केशव भट्टराईका अनुसार महायज्ञमा विवाद गरेको हुँदा उनलाई त्यहाँ ल्याइएको हो । तर, के कारणले विवाद भएको हो यसबारे आफूलाई जानकारी नभएको उनले बताए ।
महायज्ञका प्रमुखवाचक गिरीविरुद्ध २०७६ कात्तिकमा एक जना महिला भक्तजनले बलात्कार आरोप लगाएकी थिइन् । हाल उनको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन छ । उनकै आयोजनामा एक सातादेखि पशुपतिमा महायज्ञ चलिरहेको छ ।
महायज्ञमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, गण्डकी प्रदेशमन्त्री मणिभद्र शर्मा, महान्यायाधिवक्ता खम्बबहादुर खाती, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीलगायत थुप्रै उच्चपदस्थ व्यक्तिले उपस्थिति जनाइसकेका छन् ।
टिप्पणीहरू