म्यान्मारका लागि हरेक सोमबार ‘कालो सोमबार’
म्यान्मारको सैन्य सरकार ‘जुन्ता’ ले प्रजातान्त्रिक आन्दोलनका चार जना ‘प्रतीक’ लाई शनिबार मृत्युदण्ड दिएको छ । क्रुर शासकको यस्तो घिनलाग्दो रबैयाको सर्वत्र आलोचना गरिएको छ ।
सन् १९८८ मा सैन्य शासनविरूद्धको विद्रोहका एक दिग्गज कार्यकर्ता को जिम्मी र लोकप्रिय कलाकार तथा पूर्वसांसद फ्यो जेया थाअलाई जनअभियानमा लाग्दा शासकले फाँसी दिएको हो ।
जिम्मी र थाअसहित ह्ला म्यो आङ र आङ थुरा जअलाई म्यान्मारमा ‘आतंकारी गतिविधि’ गरेको आरोप लगाइएको थियो । चारजना क्रान्तिकारी योद्धाको मृत्युले लाखौं जनताको मन दुःखेको छ ।
अत्याचार सहन बानी परिसकेका म्यान्मारका नागरिक सोमबार पनि आ–आफनो कर्ममा जुटिरहेका थिए । तर, उज्यालो नहुँदै ‘जुन्ता’ को मुखपत्रले फुक्यो– मृत्युदण्डको समाचार । सामाजिक सञ्जालमार्फत् चारजनाको अन्यायपूर्ण हत्याबारे सबैले पत्तो पाउँदा उनीहरु निःशब्द बने ।
म्यान्मारका लागि हरेक सोमबार ‘कालो सोमबार’ बनेको छ । सोमबारले आफ्नो प्रिय प्राजतन्त्रवादी नेताहरू गुमाएको दुःखद सन्देश प्रवाह गरेको छ । सेनाको आतंकबाट थलिएका लाखौं म्यान्मार नागरिक थप थलिएका छन् । उनीहरू सबैको छातीमा गोली लागे झैँ भएको छ । बोल्न सक्ने अवस्थामा छैनन् । तर अन्याय र अत्याचारले नेटो काटिसकेको छ ।
पीडितका परिवार–आफन्तले शुक्रबार र शनिबार सैन्य आदेशमा भिडियो कुराकानी गरेको बताउँछन् । तर, उनीहरूलाई ‘अन्तिम भेट हुनेछ’ पनि भनिएन । चारैजना निर्दोष नागरिकमाथि सेनाले मृत्युदण्डजस्तो गैरकानूनी सजाय सुनाएको हो । सरकारले लाखौं प्रदर्शनकारीमाथि डर पैदा गर्यो । सैन्य अदालतले उल्टै मान्यता दियो । परिवारमा पीडै–पीडा थपियो । जनतामा थप आक्रोश उत्पन्न भएको छ ।
त्यसो त हत्याराहरूले शासन गरेको देश हो, म्यान्मार । जहाँ राज्यले नै आफ्ना जनताको ज्यान लिन्छ । निर्दोष जनता यत्तिमात्रै भन्न सक्छन्– ‘ज्यानमारा राज्य’ को अति भो ज्यादती । प्रदर्शनकारीहरूलाई टाउकोमा गोली हान्न बन्दुक ताकिन्छ । गाउँ सखाप पार्न हवाई आक्रमण गरिन्छ । कैदीहरूलाई मृत्युको लागि यातना दिइन्छ । सत्ता प्राप्तिका लागि जनता मारेर रगतको खोलो बगाइन्छ ।
डेढ वर्षदेखि जलिरहेको म्यान्मार फेरि रोएको छ । चार जना राजनीतिक बन्दीलाई मृत्युदण्ड दिइएको खबरले धेरैलाई स्तब्ध बनाएको छ । सैन्य क्रुरताले जताततै त्रास फैलिएको छ । सेनाको अमानवीय कूकर्मले पिँजडाभित्र थुनिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीसँगै संसारका धेरैजसो मर्माहत भएका छन् ।
एउटा सुन्दर देश ‘बर्मा’ अर्थात् म्यान्मार डरलाग्दो गृहयुद्धको भुमरीभित्र फसेको छ । वर्षौंदेखि सैनिकको जुत्तामुनि दबिएका त्यहाँका नागरिक अन्ततः युद्ध–मैदानमा उत्रिएका छन् । युद्धस्थलमा अनेकौं जाति–जनजाति छन् । अनि सेनाविरूद्ध लडिरहेका छन् । गोर्खा अर्थात् नेपालीभाषी । सशस्त्र विद्रोही समूह कचिन गोर्खा बटालियनभित्र कैयौं गोर्खाली दाजु–भाइ र दिदी–बहिनीहरू छन् । उता पिपुल्स डिफेन्स फोर्समा पनि उतिकै संख्यामा जोडिएका छन् ।
नयाँ पुस्ताका युवा–युवतीहरू ‘जुन्ता’ विरूद्ध सबैभन्दा धेरै आक्रोशित देखिएका छन् । तर, कठोर शासकसामु निर्दोष जनता निरीह छन् । आँखै अघिल्तिर ‘जनताको आवाज बोलिरहेका’ प्रदर्शनकारी ज्यान गुमाउन बाध्य छन् । कैयौं परिवारका सदस्यको हत्या भएको छ । कलिला केटाकेटीहरूसमेत अकालमै मारिएका छन् । शान्तिपूर्ण आन्दोलन गर्दा जेल पठाइन्छ ।
चारैतिर अत्याचार छ । जताततै अन्याय छ । यतिबेला ‘डेमोक्रेसी’ बारे मन्थन गर्ने नेता–कार्यकर्ता सुरक्षित छैनन् । शासकको कदम कठोर छ । म्यान्मारलाई अँध्यारो बाटोमा हिँडाइएको छ ।
जनता बढ्दो सामाजिक र आर्थिक कठिनाइबाट बाहिर आउन संघर्ष गरिरहेका छन् । राजनीतिक संकट उस्तै छ । एउटा बर्मेलीको जीवनमा अनगिन्ती चुनौतीहरू थपिएका छन् । सत्ता कब्जा गरेर सैन्य ‘जुन्ता’ ले पूर्ण बर्बरता निम्त्याएको छ ।
सुधा अत्रि रंगुन, म्यान्मार ।
टिप्पणीहरू