राप्रपाको साउने आन्दोलन घोषणा

राप्रपाको साउने आन्दोलन घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला कार्यसमिति भक्तपुरले एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा लागू गराउन दबाब दिने उद्देश्यलाई जनजीविकाका सवालसँग जोडेर संघर्ष चर्काउने केन्द्रीय नीतिअनुरुप राप्रपा भक्तपुरले साउन महिनामा गरिने आन्दोलनका कार्यक्रम आज सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रममा पार्टी र भ्रातृ संगठनहरुको आयोजनामा कार्यकर्तालाई सडकमा उतार्नेदेखि सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउनेसम्मका छन् । यो चरणको आन्दोलनको पहिलो दिन भोलि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आयोजनामा महंगीविरुद्ध थाल ठटाएर प्रदर्शन गर्ने कार्यक्रम छ भने साउन १४ गते कोणसभा गर्ने जनाइएको छ । पार्टीको क्षेत्रीय कार्यसमितिले दुबै निर्वाचन क्षेत्रमा एकैसाथ दिउँसो ३ बजे कोणसभाको कार्यक्रम राखेको हो ।

त्यस्तै, साउन १८ गते दिउँसो २ बजे युवा, विद्यार्थीसहितका भ्रातृ संगठनहरुको संयुक्त आयोजनामा भ्रष्टाचारविरुद्ध कालो पोशाक लगाएर र्याली गर्ने, २१ गते प्रदेश निर्वाचन क्षेत्रीयस्तरीय सक्रिय सदस्य सचेतना र साउन २३ गते दिउँसो १ः०० बजे हिन्दुराष्ट्र पुनःस्थापनका लागि रामनाम पहेँलो लुगा लगाएर धार्मिक गुरुहरुको उपस्थितिमा शंखघण्टासहितको विरोध कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

२८ गते राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा तथा संघीयताको खारेजी साथै २२ बुँदे मागको औचित्य सम्बन्धमा गोष्ठी कार्यक्रम राखेको राप्रपाले यो चरणको अन्तिम कार्यक्रमका रुपमा साउन ३१ गते राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको आयोजनामा किसानका समस्या समाधानका लागि जिल्ला कृषि ज्ञान केन्द्रमा धर्ना तथा ज्ञापनपत्र दिने कार्यक्रम तय गरेको छ ।

टिप्पणीहरू