सम्पत्ति विवरण भर्न प्रहरीलाई ताकेता

सम्पत्ति विवरण भर्न प्रहरीलाई ताकेता

राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण भर्न ताकेता गरेपछि प्रहरी प्रधान कार्यालयले हिजोको पत्र संलग्न गरेर मातहतका सबै विभाग, महाशाखा, गण र कार्यालयमा उक्त विवरण जानकारी गराएको छ ।

प्रधान कार्यालयको प्रशासन शाखाले पठाएको चलानी नम्बर ८३ को पत्रमा, ‘किताबखानाको साउन ९ गतेको सम्पत्ति विवरणसम्बन्धी पत्र जानकारी एवम् आवश्यक कार्यार्थ,’ भनिएको छ ।

किताबखानाले लेखेको पत्रमा भने हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र र नयाँ पद धारण गरेकाले पदको जिम्मेवारी वहन गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्ने भनेको छ ।

पत्रमा लेखिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पदधारण गरेको व्यक्तिले त्यस्तो पदधारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष. समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्नेछ ।’

समयमा विवरण नबुझाउनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पाँच हजार रुपैयाँ जरिवाना तिराएर भराउने व्यवस्थाबारे पनि पत्रमा उल्लेख छ । त्यसैले जरिवाना तिरी सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधानबारे अवगत गराउँदै, ‘तालिम, अध्ययन बिदामा रहेका, निलम्बनमा परेका र गत आर्थिक वर्षमा अवकाश भइसकेका कर्मचारीहरुसँग सम्बन्धित दरबन्दीले समन्वय गरी अनिवार्य रुपमा सम्पति विवरण भरेर पठाउन,’ भनिएको हो ।

टिप्पणीहरू