केटी भेट्न गएका केशव अपहरणमा परे

केटी भेट्न गएका केशव अपहरणमा परे

फेसबुकमार्फत् चिनजान भएकी केटीसाथी भेट्न जाँदा एक युवक अपहरणमा परेका छन् । उनलाई अपहरण गरेर सात लाख फिरौती माग्ने गिरोह समातिएपछि त्यसको योजनाकार उनै फेसबुककी साथी रहेको तथ्य खुलेको हो ।

प्रहरीले हिजो दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी सात लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट छ जनालाई पक्रेको थियो । पक्राउ पर्नेमा बबई गाउँपालिका–४ का ३५ वर्षीया लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–७ निवासी २६ वर्षीया निर्मला विक, तुलसीपुर–४ खाद्रेका २५ वर्षीय सुकलाल विक, कपिलवस्तु शिवराज नगरपालिका–९ का २० वर्षीय मनोज थारु र सवारी चालक प्यूठान घर भई हाल तुलसीपुर–६ बस्ने २४ वर्षीय जनक कुँवर छन् ।

केही दिनअघि केशवको तुलसीपुर–७ की २६ वर्षीया निर्मलासँग फेसबुकबाट चिनजान भएको थियो । निर्मलाले फेसबुकमा कुरा गर्दै अस्ति सोमबार केशवलाई बुटवलमा भेट्न बोलाइन् । महिलाले भेट्न बोलाएपछि केशव हुर्दुराउँदै अस्ति राति नै बुटवल पुगे । तर, ती महिलाले आफू लिन आउँन नसक्ने भन्दै आफन्तलाई गाडीमा लिन पठाएको बताइन् ।

केशवलाई लिन लिला र नेवबहादुर पुगे । उनीहरुले केशवलाई गाडीमा राखेर बुटवलबाट सोझै तुलसीपुर ल्याए । अस्तिराति नै तुलसीपुर ल्याएपछि सल्यानरोडस्थित युवम होटेलमा उनलाई बन्धक बनाएर राखियो ।

त्यसपछि सात लाख रुपैयाँ दिएमात्रै छाड्ने भन्दै उनीसँग फिरौती मागियो । त्यो सूचना दैलेखस्थित केशवकी श्रीमतीले थाहा पाएपछि घटना प्रहरीसम्म पुग्यो । लगत्तै तुलसीपुर प्रहरीले २० मिनेटमा केशवको उद्धार गर्याे र घटनामा संलग्न छ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालका अनुसार गिरोहले युवती प्रयोग गरी पैसा असुल्ने गरेको बताए । यसअघि अपहरित केशव, मनोज थारू र सुकलाल विक साउदी अरेबियामा सँगै काम गर्दै आएका थिए ।

टिप्पणीहरू