पार्किङमा गाडी पार्क नगरे कारबाही
काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागले तोकिएका ठाउँमा सवारी साधन पार्क नगरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
भवन निर्माण इजाजत विभागबाट जमिन तल्ला, बेसमेन्टमा गाडी पार्किङजस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएका भवनहरुले अन्य प्रयोजनमा प्रयोग गरेको पाइएपछि महानगरले यस्तो निर्देशन जारी गरेको हो ।
विभागले सूचना जारी गरेर ३५ दिनभित्र महानगरबाट नक्सा स्वीकृत गरिएअनुसार नै बेसमेन्ट, सेमी बेसमेन्ट, जमिनको तल्लो तलामा स्टोर र गाडी पार्किङको व्यवस्था गर्न भनेको छ ।
‘नक्सा स्वीकृतबमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको देखिएको हुँदा यो सूचना प्रकाशित भएको ३५ दिनभित्र कामपाबाट नक्सा स्वीकृत गरिएअनुसार नै बेसमेन्ट, सेमी बेसमेन्ट, जमिन तल्लामा स्टोर र गाडी पार्किङहरु प्रयोगमा ल्याउन सम्बन्धित घरधनीलाई जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।
नक्सा स्वीकृत प्रयोजनविपरीत भवन प्रयोग गरेको पाइएमा विभागबाट प्राप्त हुने सम्पूर्ण सेवासुविधा रोक्ने चेतावनीसमेत दिइएको छ ।
टिप्पणीहरू