टिकट बाँडफाँडमा कोइराला पक्षले दह्रो अडान लिने संकेत

टिकट बाँडफाँडमा कोइराला पक्षले दह्रो अडान लिने संकेत

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गरिने सिट भागबण्डामा गत स्थानीय तहको निर्वाचन परिणामलाई आधार मानिनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानेर सत्ता गठबन्धनका अन्य दलसँग सिट बाँडफाँट गर्नुपर्ने बताउनुभएको हो ।

प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले नेकपा माओवादी केन्द्रले भनेझैँ गरेर आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न नहुने उल्लेख गर्नुभएको हो । उहाँले काँग्रेसको नेतृत्वमा ५ वर्षे स्थायी सरकारसहित आर्थिक र परराष्ट्र नीति स्वीकार्ने सुनिश्चितता भएमात्रै तालमेल सम्भव हुने बताउनुभएको छ ।

कोइरालाले काँग्रेसलाई कमभन्दा कम क्षति हुने गरी मात्रै आगामी निर्वाचनमा गठबन्धन हुनुपर्ने तर्क गर्नुभएको हो । गठबन्धन दलको एक महत्वपूर्ण घटक माओवादी केन्द्रले आफ्नो दलले ५० सिट पाउनु पर्ने भनिरहँदा कोइरालाले यस प्रकारको सिट बाँडफाँट गरेर चुनावमा जान नसक्ने प्रष्ट पार्नुभएको हो ।

पाँच वर्षसम्म काँग्रेसकै नेतृत्वमा स्थायी सरकार बनाउने पक्षमा आफूहरु रहेको भन्दै कोइरालाले यसका लागि छलफल भइरहेको जानकारी पनि दिनुभएको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा पाँच दलीय गठबन्धन कायम राखेर निर्वाचनमा जाने तयारीमा रहेको भनिएका बेला स्थानीय तहमा गठबन्धन नै गर्न नहुने पक्षमा उभिएका कोइरालाको यस्तो भनाइ आएको हो ।

निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको स्थानीय तहको अन्तिम परिणामअनुसार २६ सय ६८ वडाअध्यक्ष जितेको काँग्रेसले ३९ लाख ५६ हजार एक सय ९३ मत पाएको छ । काँग्रेसले पाएको यो मत ३४.२८ प्रतिशत हो । त्यस्तै, १५ लाख ३ हजार २४७ भोट पाएको माओवादी तेस्रो र पाँच लाख ७७ हजार ३८० मतसहित जनता समाजवादी पार्टी (जसपा) चौथो भएको छ । यी दुवै दलले वडाध्यक्षतर्फ पाएको मतको प्रतिशत क्रमशः १३.३ र ५ प्रतिशत हो ।

एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ भोट पाएको छ । जसअनुसार ३.६६ प्रतिशत भोट ल्याएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० र लोसपाले दुई लाख ४४ हजार ८८२ भोट पाएका छन् ।

टिप्पणीहरू