दौडादौडकै बीच अमेरिकी सहायक विदेशमन्त्री बौद्धतिर
मुश्किलले ३६ घण्टा काठमाडौंमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु अन्ततः बौद्ध पुगेर मात्रै स्वदेश फर्केका छन् । त्यसपछि गए राति २ बजे होटलबाट निस्केर बिहानीपख पौने ४ बजेको उडानमा उनी कतारको दोहा हुँदै अमेरिका गएका छन् ।
हिजो बिहान सबेरै होटल द्वारिकाजबाट कमलादीस्थित अमेरिकी राजदूतको निवासमा आइपुगेका उनी ब्रेकफास्ट मिटिङपछि १० बजे राजदूतावास पुगेका थिए । दिउँसो सिंहदरबारमा परराष्ट्र मन्त्री नारायण खड्कासँग भेट गरेपछि लगत्तै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए ।
सिंहदरबार र बालुवाटारमा उनले आधा आधा घण्टाभन्दा लामो छलफल भएन । त्यसपछि साँझ ६ बजे उनी बौद्ध स्तुपाको अवलोकन गर्न पुगे । त्यहाँ पनि आधा घण्टा बिताए ।
नेपाली पक्षसँग छलफल र अवलोकनमा जम्माजम्मी डेढ घण्टा बिताएका लुको ३३ घण्टा आराम,आन्तरिक छलफल र हिजो “नेपाली चुल्हो”मा रात्रीभोजका दौरान नेपाली समाजको विभिन्न क्षेत्रका सामाजिक कार्यकर्ताहरुसङ्ग भलाकुसारी गरेर बितेको थियो । योजनावद्ध हो वा काकताली हिजै लुसँग भेटेपछि मन्त्री खड्काले प्रतिनिधिसभा बैठकमा विवादित एसपीपीमा नेपाल सहभागी नहुने पत्र अमेरिकी पक्षलाई गत सोमबार नै लेखिएको जानकारी गराउनुभयो । मन्त्रीले संसदमा बोली नसक्दै उता अमेरिकी दूतावासले सरकारले पठाएको पत्र प्राप्त भएको जानकारी दिएको छ ।
यता नेकपा एमालेका नेता तथा सांसद भीम रावलले प्रतिनिधि सभा बैठकमा बोल्दै स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बाट नेपाल फिर्ता भन्ने व्यहोराको पत्रको प्रतिलिपी उपलब्ध गराउन माग गर्नुभएको छ ।
टिप्पणीहरू