दुई पदका लागि उनैको आवेदन,अन्तरवार्ता सूचिमा नामै छैन,सफलताको प्रतिवेदन
म्याग्दीको बेनी नगरपालिकामा करार कर्मचारी पदपूर्ति गर्दा गोलमाल भएको पाइएको छ । अन्तरवार्ताको सूचिमा नामै नभएको व्यक्तिलाई छनौट गरेर सफल उम्मेदवारको लिष्टमा निकालेपछि थप अर्को गोलमाल भएको देखिन्छ । अल्पकालिन सेवा केन्द्र सञ्चालक समितिका निम्ति केन्द्र प्रमुख र कार्यालय सहयोगी पदमा कर्मचारी नियुक्ति क्रममा गोलमाल भएको हो ।
नगरपालिकाले गत साउन ३ गते केन्द्रका लागि कर्मचारी माग गरेको थियो । यसका लागि सूचना प्रकाशित गर्दै सात दिनभित्र इच्छुक उम्मेदवारलाई आवेदन दिन भनिएको थियो । नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुले केन्द्र प्रमुखमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
त्यस्तै,कार्यालय सहयोगीका लागि सामान्य लेखपढ गर्न जान्ने भए आवेदन दिन मिल्ने भनिएको छ । आवेदन दिएकामध्ये १७ जना अन्तरवार्ताका लागि छनोट भएका थिए । नगरले जारी गरेको छनोट सूचिमा केन्द्र प्रमुख र कार्यालय सहयोगीनिम्ति एउटै व्यक्तिले आवेदन दिएको पाइएको छ । आवेदन दिएर अन्तरवार्ताका लागि प्रकाशन भएको सूचिमा नामै नभएको उम्मेदवार छनौट गरेर नगपालिकाले सबैलाई चकित बनाएको छ ।
“अरु बेला ५ बजे बन्द हुने नगरपालिका हिजोआज १० बजेसम्म खुल्न थालेछ भनेर टिकाटिप्पणी गरिएको छ । केन्द्र प्रमुख र कार्यालय सहयोगीको हैसियत नै आकाश पातालसरह हुन्छ । उनीहरुको शैक्षिक स्तर र अनुभव पनि भिन्न हुनुपर्छ ।”
निशा सुवेदी र विष्णु बानियाँले दुवै पदका लागि आवेदन दिएका थिए । तर नगरले रघुगंगा गाउँपालिका वडा नम्बर २ की साधना केसीको नाम कार्यालय सहयोगीका रुपमा अन्तरवार्ताको लिष्टमा नाम भए पनि उनलाई केन्द्र प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै,रिता पौडेल वैकल्पिक उम्मेदवारको छनोटमा परेकी छन् । नगरले साधनालाई केन्द्र प्रमुखमा सिफारिस गरेसंगै नगरप्रति प्रश्नको लर्को लागेको छ ।
अन्तरवार्ताको सूचिमा नामै नभएको व्यक्तिलाई नियुक्ति गर्न मिल्छ भनेर आलोचना भइरहेको बेला नगरले छनोट सूचिमा साधनाको नाम प्रकाशित गर्न बिर्सिएको भन्दै राति १० बजे स्पष्टीकरण दिएपछि थप विरोध भएको हो । साउन १२ गते जारी सूचनामा साधनाको नाम कार्यालय सहयोगीमा मात्र उल्लेख थियो । तर,उनी केन्द्र प्रमुखमा सिफारिस भएपछि एकाएक विवाद चर्किएको हो ।
त्यसपछि नगरले साउन १३ गते स्पष्टीकरण दिएको थियो । दिउँसो काम गर्न आनाकानी गर्ने नगरले आफ्नो मान्छे भएपछि रातको समयमा पनि काम गर्न सक्दो रहेछ भनेर बेनीका स्थानीयहरुले विरोध जनाएका छन् । नगरपालिकाले स्पष्टिकरण दिएको फेसबुक पेजमै पनि चर्को आलोचना र बिरोध भएको छ ।
अरु बेला पाँच बजे बन्द हुने नगरपालिका हिजोआज १० बजेसम्म खुल्न थालेछ भनेर टिकाटिप्पणी गरिएको छ । कतिपयले पदपूर्तिका लागि पुन: विज्ञापनको मागसमेत गरेका छन् । केन्द्र प्रमुख र कार्यालय सहयोगीको हैसियत नै आकाश पातालसरह हुन्छ । उनीहरुको शैक्षिक स्तर र अनुभव पनि भिन्न हुनुपर्छ । हाकिमको जिम्मेवारी पियनले सम्हाल्न सक्छ ? प्रश्न खडा भएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको निवेदन,राजश्व तिरेको भरपाइले झन बिबाद देखाएको छ । छनौटमा परेकी उम्मेदवारले नगरपालिकामा राजश्व नै नतिरेको देखिएको छ । नगरले सार्वजनिक गरेको राजश्व निस्सामा बेनी नगरपालिका-२ की साधनाले राजश्व तिरेको देखिए पनि नियुक्ति पाउने व्यक्ति रघुगंगा गाउँपालिका-२ की भएकोले पनि अन्यौल र विवाद झनै बढाएको छ ।
यता, नगरका प्रमुख प्रशासकीय अधिकृत धोकलराज ढकालले दुवै पदका लागि हुने गरी सूचना प्रकाशित गरेको जनाए । सामान्य पढलेख गरेकाले कार्यालय सहयोगी र तोकेअनुरुप शैक्षिक योग्यता हुनेले केन्द्र प्रमुखमा आवेदन दिने गरी विज्ञापन गरिएको उनको भनाइ छ ।
त्यसैले, केन्द्र प्रमुखमा आवेदन दिनेले कार्यालय सहयोगीमा पनि उम्मेदवारी दिन मिल्ने अधिकृत ढकालले बताएका छन् । त्यस्तै, राति १० बजे स्पष्टीकरण निकालिएकोबारे उनी भन्छन्,‘नगरपालिकाको काम यतिबेला भन्ने नै हुँदैन । जतिबेला पनि गर्न सकिन्छ ।’
प्रश्न उठेको छ,‘मध्यरातमा स्पष्टीकरण दिन सक्ने नगरपालिकाले दिउँसो जनताको काम गर्न किन आलटाल गरेको होला ?’ उपमेयर ज्योति लामिछाने पौडेल नेकपा माओवादी केन्द्रबाट बिजयी भएको र अधिकृत ढकालले पनि उनैलाई सहयोग गरेकोले उपमेयरले आफ्नो पार्टी निकट मान्छे हाल्न खोजेको आरोपसमेत लगाइएको छ ।






टिप्पणीहरू