गाउँपालिकाका अध्यक्षको चालक बनेका वडाअध्यक्षलाई हाइसञ्चो, जनता मारमा
रोल्पाको रून्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर घर्तीलाई गाडी चालकका रूपमा प्रयोग गर्दै आएका छन् । स्यानीय तहको निर्वाचनमा विजयी भएसँगै गाउँपालिका अध्यक्ष पुनले चालक विज्ञान सापकोटालाई कार्यालयमै थन्काएका छन् ।
उनले त्यसपछि वडाध्यक्ष घर्तीलाई चालक बनाएका हुन् । करारका सबै कर्मचारी आ–आफ्नो विभागमा खटिएका छन् । कार्यपालिका बैठकले पनि उनीहरुलाई बिदा दिने कुनै योजना बनाएको छैन । तर पालिका अध्यक्ष पुनले चालक सापकोटासँग कुनै सम्पर्क नगरेको बताइन्छ ।
उनले चालकलाई बिदामा बस्न पनि भनेका छैनन् । उल्टै वडाध्यक्षलाई चालक बनाएर आफ्नो काम फत्ते गरेका छन् । वडाध्यक्ष घर्ती दुई हप्तादेखि सवारी चलाएर वडा कार्यालयमा अनुपस्थित हुँदा सेवाग्राही मर्कामा परेका छन् । आफूले भोट हालेर जिताएका जनप्रतिनिधि सम्पर्कविहीन हुँदा कार्यालयमा पुगेर फर्कनुपरेको उनीहरूको गुनासो छ ।
गाउँपालिका अध्यक्ष पुनको बेथितिले सीमा नाघ्न थालेको रून्टीगढीका एक जना वडाध्यक्ष बताउँछन् । ‘वडाध्यक्षज्यूले आजभोलि गाउँपालिकामा ड्राइभर पदमा नियुक्ति पाएजस्तो छ । उहाँ वडा कार्यालयमा कम र गाउँपालिका अध्यक्षलाई बोकेर धेरै हिँडिरहनुभएको छ,’ उनले भने । निमित्त प्रमुख प्रशासकीय अधिकृत सानुबाबु खड्कालाई खबरै नगरी पशु शाखाका कर्मचारी निमबहादुर डाँगी पनि अध्यक्ष पुनसँगै काठमाडौँ पुगेको बताइन्छ ।
टिप्पणीहरू