बजेटको जानकारी गराउन सामान्य प्रशासन मन्त्रालयको ताकेता
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र आर्थिक वर्ष २०७९/८० को बजेट प्रविष्ट गर्न निर्देशन दिएको छ । बजेट विवरण प्रविष्ट गर्न बाँकी एक सय ४७ स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयको अनलाइन पोर्टलमा बजेट प्रविष्ट गर्न निर्देशन दिइएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (६) मा नगर÷गाउँ सभाले असार मसान्तसम्म नयाँ आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाबमोजिम आर्थिक वर्ष २०७९÷८० को बजेट सभाबाट पारित भएको विवरण प्रविष्ट गर्न मन्त्रालयले यसअघि पटक पटक सूचना जारी गरेको थियो ।
तर स्थानीय तहले अटेर गरेपछि मन्त्रालयले समय नै तोकिदिएको हो । तोकिएको समयावधिभित्र बजेट पारित नगर्ने स्थानीय तहको विवरण तयार पार्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू