भूपू फर्केर भित्ता खोप्न खोजेपछि भाँडभैलो

भूपू फर्केर भित्ता खोप्न खोजेपछि भाँडभैलो

नेपालगञ्ज उपमहानगरपालिका–१२ का निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले कार्यालयको भित्ता फोडेर शिलालेख राख्न खोजेपछि किचलो भएको छ ।

सुवेदी दलबलसहित गत बिहीबार गएर कार्यालयको भित्ता ठोकी शिलालेख राख्न लागेपछि वडाध्यक्ष तरुण बज्राचार्यले रोकेका थिए ।

भित्र वडाध्यक्षलगायतको टिम बसिरहेको बेला बिनाजानकारी सुवेदीसहितको टिमले हथौडा चलाउँदै गर्दा बज्राचार्यहरु बाहिर निस्केर तोडफोड गरिरहेपछि दुई पक्षबीच विवाद भएको थियो । विवादपश्चात् प्रहरी घटनास्थलमा पुगेर उक्त कार्य रोकिएको थियो ।

जानकारीअनुसार सुवेदीको कार्यकालमा सरसफाइका लागि ट्र्याक्टर खरिदमा सहयोग गर्ने दाता, वडा समितिसहित उपभोक्ता समितिको नाम उल्लिखित शिलालेख बनाइएको थियो । उक्त शिलालेख सुवेदीले आफ्नो कार्यकालमा राख्न सकेका थिएनन् ।

बज्राचार्यले वडाको बिनाजानकारी निवर्तमान वडाध्यक्षको समूहले जबर्जस्ती गरेपछि उक्त कार्यमा रोक लगाइएको बताए । उनले वडा कार्यालय तोडफोड गर्नेमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

टिप्पणीहरू