कठै हाम्रा भूगोल, इतिहास र संस्कृति

कठै हाम्रा भूगोल, इतिहास र संस्कृति

विद्यालय तहमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन–अध्यापन हुन छाडेपछि उच्च शिक्षातर्फ त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषय लिएर पढ्ने विद्यार्थीको संख्या घट्दो छ ।

सर्टिफिकेट लेभल खारेजीसँगै कक्षा ११/१२मा समेत ती विषयतर्फ विद्यार्थीको रुचि नहुँदा विश्वविद्यालयमा इतिहास, भूगोल र संस्कृति विषय पढ्ने विद्यार्थी शून्यसरह भएपछि प्राध्यापकहरूलाई ५/६ वर्षदेखि हाजिर गर्ने र घर फर्किने अवस्था छ । तलब रोक्न सकिएको छैन ।

ती प्राध्यापकलाई अन्य विषयगत क्षेत्रतिर स्थानान्तरण गर्न पनि सम्भव भएन । यदाकदा संस्कृतिको अध्यापन भए पनि अनुसन्धान र खोजनीतिमा पर्याप्त नहुँदा आवश्यक जनशक्ति र व्याख्या विश्लेषणका लागि विदेशी विद्वान् झिकाउनु पर्ने बाध्यताले नेपालको मौलिक ऐतिहासिक मूल्य–मान्यतामाथि प्रहार हुने गरेको हामीले चाल पाउँदैनौँ ।

विद्यालय स्तरको सामाजिक शिक्षामा पूर्वको टिष्टादेखि पश्चिमतिर सतलज र काँगडासम्मको इतिहास, भूगोल र संस्कृति विषयगत रूपमा केही अंश राख्नुका बाबजुद विद्यार्थीको रुचि अन्य विषयतिर केन्द्रित छ अनि कक्षा ११ र १२ मा त विषयगत पाठ्यक्रम नै समावेश छैन । विषयको पाठ्यक्रमलाई समयानुकूल व्यावसायिक र रोजगारीका क्षेत्रमा परिवर्तन नगरी अनुसन्धानभन्दा सिद्धान्ततिर प्राथमिकता दिएका कारण विद्यार्थीमा ती विषय पढ्ने रुचि हराएको हुनुपर्छ ।

यस्ता महत्वपूर्ण विषयको अध्ययनपश्चात् अब आफू कसरी पालिने भन्ने कुराको चिन्तासँगै एमसीसीलगायत एसपीपी सम्झौता तथा भारतीय अतिक्रमण र विस्तारवादी नीतिका कारण नेपाली समाजको आफ्नै मौलिकतासमेत गुम्ने खतरा छ । समाज विकास क्रमका विविध घटनासँग प्रत्यक्ष सरोकार राख्ने यी विषयमा नयाँ विद्यार्थीको दिनानुदिन अभावले राष्ट्रियता र देशभक्तिको भावना राम्रोसँग उजागर हुन सकेको छैन । नेपालको पर्यटन उद्योगदेखि ऐतिहासिक मौलिक पहिचानमा समेत धक्का पार्ने निश्चित छ ।

देशको भूगोलमा रहेका स्रोतसाधन, खनिज पदार्थको न्यायोचित प्रयोग र प्रशोधन, ऐतिहासिक कला संस्कृतिको संरक्षण एवं सम्वद्र्धनसहित सार्वभौम देशको स्वाधीनता, स्वाभिमानमा उभिएको योग्य जनशक्ति तयार गर्न अन्य प्राविधिक विषयसँगै विशेष सहुलियत वा छात्रवृत्तिमा इतिहास, भूगोल र संस्कृतिजस्ता विषय अध्ययन अध्यापन हुनु आवश्यक छ ।

– सत्यराम कासिछ्वा, सूर्यमढी ९, भक्तपुर, ९८४११३२६४३

टिप्पणीहरू