जनार्दनविरुद्ध सडकमा उत्रिएका एक दर्जन काँग्रेस कार्यकर्ता पक्राउ
जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्बहाली गरेको विरोधमा सत्तारुढ नेपाली काँग्रेसकै कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । काँग्रेसको शेखर कोइराला पक्षधर युथ काँग्रेसका कार्यकर्ताहरुले आज साँझ बानेश्वरस्थित संसद भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
युथ कांग्रेसका अध्यक्ष सचिन तिमल्सिनाको नेतृत्वमा आएका काँग्रेसी कार्यकर्ताले संसद भवनको मूल गेटमा कालो झण्डा र प्लेकार्डसहित अर्थमन्त्रीविरुद्ध चर्को नारावाजी गरेका थिए । सो क्रममा उनीहरुले ‘नेपाली कांग्रेस जिन्दावाद’, राजनीतिक अपराध बन्द गर !’, जस्ता नारा लगाउँदै बाटो अवरुद्ध पारेपछि प्रहरीले एक दर्जनबढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा युथ कांग्रेसका सहमहामन्त्री अस्मिता शाह, केन्द्रीय सदस्य चेतन बुढाथोकी, विनोद देउवा, विरेन्द्र मोडै, बागमती प्रदेश संयोजक साजन तामाङ, काठमाडौँ जिल्ला सदस्य विराज अर्याल, हुम्ला संयोजक सत्तल रोकाया, सचिव देवजंग शाही छन् ।
त्यस्तै, युथ काँग्रेसका सदस्यहरु सुरज रेग्मी, दिया गुरुङ, वर्षीय मञ्जु पोखरेल, श्रवण कुमार खिम्बंजार, रामकृष्ण रिजाल, सुवास पोखरेल लोकेश कुँवर र पवन आचार्य पनि समातिएका छन् । संसद भवनको मूल गेटमा आएर प्रदर्शन गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर तीनकुनेमा राखिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू