आज आएर बल्ल चेत फिर्यो-महाकाली सन्धिमा ‘तलमाथि भएकै रहेछ’

आज आएर बल्ल चेत फिर्यो-महाकाली सन्धिमा ‘तलमाथि भएकै रहेछ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसंग भएको महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गर्नुभएको छ । महाकाली सन्धि पास गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका उहाँले साढे दुई दशकपछि गल्ती स्वीकार गर्नुभएको हो ।

आज काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रममा ओलीले महाकालीको पानी दुवै देशको आधा-आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको तर, तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा चर्चा नहुनु कमजोरी भएको बताउनुभयो ।

‘त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा पानी खपतको बाँडफाँडको विषयमा प्रशस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेज (कमजोरी) रहे,’ उहाँले भन्नुभयो ।

महाकाली सन्धि अनुमोदन भने आवश्यक रहेको ओलीको दाबी थियो । सन्धि अनुमोदनको विषयले तत्कालीन समयमा नेकपा एमालेमा चर्किएको विवादका कारण पार्टी फुटेको थियो ।

टिप्पणीहरू