अलकायदाका ‘मास्टर माइन्ड’माथि मिसाइल प्रहार

अलकायदाका ‘मास्टर माइन्ड’माथि मिसाइल प्रहार

अमेरिकाले आतङ्कवादीको सूचिमा राखेको अलकायदा नेता अयमान अल जवाहिरीलाई ड्रोन आक्रमणबाट हत्या गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा उनी मारिएका हुन् ।

सेनाको कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् । राष्ट्रपति बाइडेनले ७१ वर्षीय अलकायदाका नेताविरुद्ध निर्णायक हमलालाई अमेरिकाले स्वीकृत गरेको बताए । सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व ‘मास्टर माइन्ड’ मानिने जवाहिरीले गरेका थिए ।जवाहिरी बसेको सुरक्षित घरको बार्दलीमा रहेका बेला ड्रोनबाट दुई वटा मिसाइल प्रहार गरिएको थियो । उनी आफ्नो परिवार सँगै रहेको बताइएको छ । आक्रमणमा जवाहिरीको परिवारका सदस्यहरू सँगै भएता पनि कसैलाई चोटपटक नलागेको जनाइएको हो।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा भएका आत्मघाती हमलाको योजनाकार बिन लादेन र जवाहिरी नै रहेको भन्दै अमेरिकाले उनलाई मोस्ट वान्टेड आतङ्कवादी मानेको थियो ।

पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि भूमिगत बनेका जवाहिरीले अलकायदा समूहलाई नेतृत्व गर्दै आएका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

टिप्पणीहरू